काठमाण्डौ । कुनै बेला भारतीय बजारमा एकछत्र राज गरेको चाउचाउ हो म्यागी । आफ्ना उपभोक्तामाझ टु मिनेट नुडल्स वा झटपट म्यागीको नामबाट समेत परिचित यो चाउचाउ भारतीय बजारमा प्रवेश गरेको ३७ वर्ष पूरा भइसकेको छ । भारतसँगै नेपालमा समेत चाउचाउ आउन थालेको वर्षौ बितिसकेको छ ।  तर कहिल्यै पनि दुई मिनेटमा नपाक्नेवाला म्यागीको जन्म कसरी भयो ? कसले यसको नामाकरण गर्यो ? बारम्बार विवाद भइरहँदा पनि किन यसमाथि प्रतिबन्ध लागेन ? आउनुहोस् करोडौं भारतीय र लाखौं नेपाली उपभोक्ताको मन मुटुमा बस्न सफल नुडल्सको यो ब्राण्डको पछाडिको सम्पूर्ण कथा जानौं । 

३७ वर्षको भारतीय म्यागी
म्यागीले भारतीय बजारमा आफ्नो उपस्थिति जनाएको ३७ वर्ष पूरा भइसकेको छ । सन् १९८४ मा भारतीय बजारमा प्रवेश गर्दा म्यागीले भारतीय उपभोक्ताको यति बिघ्न माया पाउँछ भनेर सायद कसैले सोचेको थिएन होला । नेस्ले इण्डिया लिमीटेड त्यही कम्पनी हो जसले म्यागीलाई भारत प्रवेश गराएको थियो । 

सन् १९४७ मा ब्राण्ड म्यागीे स्वीट्जरल्याण्डको कम्पनी नेस्लेसँग विलय भएको थियो । त्यसबेलादेखि अहिलेसम्म म्यागी, नेस्लेको सबैभन्दा चर्चित ब्राण्ड बन्न पुगेको छ । नेस्ले इन्डियाले विज्ञापनमा वार्षिक रुपमा करीब १ सय करोड भारतीय रुपैयाँ खर्च गर्ने गर्दछ । जसमा सबैभन्दा ठूलो हिस्सा म्यागीले ओगट्ने गर्दछ । 

भारतको मोस्ट भ्याल्युड ब्राण्ड मध्ये एक रहेको म्यागी वास्तवमा स्विट्जरल्याण्डको प्रख्यात कम्पनी नेस्लेको एक सहयोगी ब्राण्ड हो । तर अधिकांश मानिसहरु नेस्लेलाई कम र म्यागीलाई मूल ब्राण्ड मान्ने गर्दछन् । 

कसरी जुर्यो म्यागीको नाम ? 
कुरा त्यतिबेलाको हो जब म्यागीको जन्म बाध्यताका बीच भएको थियो । म्यागीको जन्म समय अभावका कारण भएको थियो । म्यागी ब्राण्डलाई सन् १८७२ मा स्विट्जरल्याण्डका एक उद्यमी जूलियस म्यागीले स्थापना गरेका थिए । 

स्विट्जरल्याण्डमा त्यतिबेला औद्योगिक क्रान्तिको समय थियो । जतिबेला यहाँका महिलाहरु कारखानामा लामो समयसम्म काम गर्ने गर्दथे । काम गर्ने समय लामो हुने गरेका कारण महिलाहरुलाई खाना बनाउनका लागि निकै नै कम समय बच्न थालेपछि स्विस पब्लिक वेलफेयर सोसाइटीले जूलियस म्यागीलाई सहयोग गर्यो । यसप्रकार म्यागीको जन्म बाध्यताका बीच भयो, ताकि आफ्ना आवश्यकतालाई पूरा गर्न सकियोस् । जूलियसले प्रडक्टको नाम आफ्नो थरबाट राखिदिए । उसो त उनको पूरा नाम जुलियस माइकल जोहासन म्यागी हो । सर्वप्रथम सन् १८९७ मा जर्मनीमा म्यागी नुडल्स बजारमा आएको थियो । 

त्यसपछि घर–घरमा पुग्यो म्यागी 
सुरुवातमा जुलियसले प्रोटिनले भरिपूर्ण खाना र रेडिमेट सुप बनाए । यो काममा उनका फिजिसीयन मित्र फ्रिडोलिन शुलरले उनलाई धेरै सहयोग गरेका थिए । तर दुई मिनेटमा बन्ने म्यागीलाई मानिसहरुले धेरै रुचाए । 

सन् १९१२ सम्म म्यागीले अमेरिका र फ्रान्स जस्ता देशका मानिसहरुमाझ आफ्नो उपस्थिति बनाइसकेको थियो । तर यहि वर्ष नै जुलियस म्यागीको निधन भयो । उनको मृत्युको प्रभाव म्यागीमा समेत पर्यो र लामो समयसम्म यसको कारोबार सुस्त गतिमा चलिरह्यो । फेरी आयो वर्ष १९४७, जब नेस्लेले म्यागीलाई खरिद गर्यो र उसको ब्राण्डिङ र मार्केटिङले म्यागीलाई प्रत्येक घरको किचेनमा पुर्यायो । 

भारतमा जोखिमपूर्ण कदम
असीको दशकमा जब पहिलोपटक नेस्लेले म्यागी ब्राण्डको रुपमा नुडल्स लञ्च गर्यो तब त्यो विशुद्ध रुपमा ती शहरी मानिसहरुको नास्ताको विकल्पको रुपमा रहेको थियो, जोसँग खाना पकाउने धेरै समय हुने गर्दैनथ्यो । यो त्यो समय थियो, जतिबेला भारत आपतकालीन स्थितिबाट माथि उठिरहेको थिया र सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा उतारचढावपूर्ण राजनीति उत्कर्षमा थियो । 

भारत एउटा मात्रै ब्राण्डको नाम शीर्ष स्थानमा थियो र त्यो हो, इन्दिरा गान्धी । त्यतिबेला भारतको बजार र अर्थतन्त्र त्यहि डर र भययुक्त मार्गमा चलिरहेको थियो, जुन ३५ वर्षअघि भारतको स्वतन्त्रताको बेला बनेको थियो । 

यस्तोमा कुनै पनि बहुराष्ट्रिय कम्पनीका लागि आफ्नो नयाँ र फरक प्रडक्ट एकदमै नयाँ र अछुतो बजारमा लञ्च गर्नु जोखिमको अलावा अरु केही पनि थिएन । तर पनि नेस्लेले म्यागीलाई लिएर यो जोखिम उठायो । 

भारतीय किचेनमा पुग्यो म्यागी 
नेस्लेले बिक्री र बजार हिस्सा बढाउनका लागि सन् १९९७ मा म्यागी नुडल्स बनाउने फर्मुलामा बदलाब गरेर नयाँ नुडल्स पेश गर्यो । भारतीय उपभोक्ताले यो बदलावलाई रुचाएनन र उनीहरुले नयाँ म्यागीलाई अस्वीकार गरिदिए । यसका कारण म्यागीको बिक्री दुई वर्षसम्म निरन्तर ओरालो लाग्यो र अन्तिममा सन् १९९९ मा कम्पनीलाई आफ्नो पुरानै फर्मुलामा फर्कनु पर्यो । भारतमा आज पनि म्यागीको पारम्परिक २ मिनेटमा तयार हुने दाबी गरिने मैदा नुडल्स नै पहिलो रोजाईमा रहेको छ । 

१ हजार करोडको नुडल्स बजार
भारतमा म्यागी ब्राण्ड अन्तर्गत नेस्लेले अन्य थुप्रै प्रडक्टहरु लञ्च गर्यो । यसमा सुप, भुना मसला, म्यागी कप्पा मेनिया इन्स्टेन्ट नुडल्स जस्ता अन्य प्रडक्टहरु छन् । 

भारतमा म्यागीका ९० प्रतिशत प्रडक्टहरु विशेष रुपमा भारतको विवधताले भरिपूर्ण संस्कृतिलाई मध्यनजर गर्दै बनाइएका छन् र यी प्रडक्टहरु विश्वका अन्य देशहरुमा पाइन्न। 

भारतमा नेस्ले समूहको कुल मुनाफामा म्यागी ब्राण्डको करीब २५ प्रतिशत हिस्सेदारी पुगिसकेको छ । यसका साथै वार्षिक आँकडा करीब १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै पुगिसकेको छ । अहिले भारतको नुडल्स बजारमा आधा दर्जन नयाँ ब्राण्ड आइसकेका छन् । यसमा अधिकांश रिटेल चेनहरुको आफ्नो ब्राण्ड रहेको छ ।