काठमाण्डौ । नेकपाका उपाध्यक्ष बामेदव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै किसिमको विचारहरुको समाना गरेर अगाडि बढ्न सुझाव दिएको प्रष्टीकरण दिएका छन् । 

गौतम र ओलीबीच शनिवार बालुवाटारमा चर्काचर्की परेको विषयमा केन्द्रीत प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका उल्लेख गर्दै गौतमले भनेका छन्-'यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।'

शनिवार बालुवाटारमा आफू र ओलीबीच पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको उनको जिकिर छ। 

‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ ।’ गौतमले भनेका छन्–‘भएको यत्ति हो ।’ 

शनिवार गौतम र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा आधाघण्टा जति चर्काचर्की परेको थियो । सो क्रममा उनीहरु एक अर्काले धाकधम्कीको भाषा समेत प्रयोग गरेका थिए । उनीहरुको यो विवाद संचारमाध्यममा बाहिरिएपछि गौतमले प्रष्टीकरण सार्वजनिक गरेका हुन् ।