काठमाण्डौ । शनिवार राति सम्पन्न सत्तारुढ नेकपाको सचिवालय बैठकको धेरै समय प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माआलोचना गरेर बिताइदिए । 

बैठकमा प्रचण्ड, झलनाथ खनाल लगायतका नेताहरुले ओलीको कार्यशैलीको खुलेरै आलोचना गरेका थिए । तर, बैठकमा आएका सामान्य आलोचना भन्दा प्रधानमन्त्रीले निकै लामो समय लिएर आत्माआलोचना गरेका थिए । 

विगतमा भएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने, पार्टीको एकतालाई अक्षुण राख्ने लगायतका विषयमा उनले प्रष्ट धारणा राखेका थिए । 

बैठकको अधिकांश समय आलोचना र आत्माआलोचनामै बितेको थियो । यो बैठकले स्थायी कमिटी बैठक बैशाख २५ गते बिहान ११ बजे बोलाउने निर्णय गर्यो । सो बैठकको अजेण्डा तय गर्न बैशाख २४ गते पुनः सचिवालय बस्ने निर्णय पनि फटाफट भयो ।

तर, बाहिर चर्चा गरिएजस्तो बामदेवलाई प्रधानमन्त्री बनाउने गरी केपी ओलीसँग भएको भद्र सहमतिको विषय प्रवेश गराउन सचिवालय बैठकमा झण्डै झण्डै छुटेको थियो । बैठकको लगभग अन्ततिर जब आत्माआलोचना र आलोचनाको श्रृंखला सकियो र बैठक अब अन्त गर्ने भन्ने बिषय आयो, तब पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले ‘बामदेव कमरेड’को बिषयमा प्रेसलाई के भन्ने ? भनेर सबैले बिर्सिएको विषय उठान गरिदिए । अनि मात्र बामदेवको विषयले बैठकमा प्रवेश पाएको एक सचिवालय सदस्यले दाबी गरेका छन् । 

त्यसपछि मात्र उपयुक्त समयमा बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय भयो । नेताहरुबीच प्रतिनिधिसभामा लगेर बामदेवलाई प्रधानमन्त्री बनाउने सहमति समेत बन्यो । 

सचिवालय बैठकमा झण्डै झण्डै छुटेको, तर राजनीतिक बजार तताएको बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा ओली समूहसँग त्यसअघि नै गोप्य सहमति चाहि भइसकेको थियो । 

यस्तोसम्मको सहमति
ओली समूह र बामदेव बीच रातारात सहमति बनेको थियो । भरपर्दो सहमतिको प्रस्ताव आएकै कारण बामदेव गौतम रातारात क्याम्प परिवर्तन गर्दै ओली गुटमा पुनः पुगेका हुन् । 

स्रोतका अनुसार बामदेव गौतमलाई आगामी मंसिरसम्म प्रधानमन्त्री बनाउने आश्वासन ओलीले दिएका छन् । त्यसका लागि कुन जिल्लाको कुन निर्वाचन क्षेत्र खालि गराई पुनः चुनाव गराउने भन्ने विषय समेत टुंगिसकेको बताइएको छ । 

स्रोतका अनुसार बामदेवलाई उनले रोजेकै पाल्पाको क्षेत्रनम्बर १ बाट चुनाव लडाउने सहमति बनेको छ । यो क्षेत्रबाट एमालेका दलबहादुर रानालाई राजीनामा गर्न लगाउने विषय समेत टुंगिसकेको छ । सोही क्षेत्रमा उपनिर्वाचन गरी बामदेवलाई जिताउने र प्रतिनिधिसभामा प्रवेश गराई मंसिरसम्म प्रधानमन्त्री बनाउने भद्र सहमति भएको बताइएको छ । 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा गर्नु परे नयाँलाई अवसर दिनुपर्छ भन्दै बामदेवको नाम प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थिए । प्रचण्ड, माधव नेपाल र स्वयम् वामदेवले समेत कल्पना नगरेको प्रस्ताव ओलीबाट एकाएक आएदेखि नै बामदेवको बोल्ती बन्द भएको छ । 

कतिपयले ओलीको यो प्रस्ताव ठट्टा वा व्यंग्यको रुपमा आएको समेत टिप्पणी गरे । तर, शनिवारको सचिवालय बैठकमा भने अन्तिम अवस्थामै सही, बामदेवका लागि आशा जगाउने निर्णय भएरै छाड्यो ।