काठमाण्डौ । शुक्रबार पनि सुनुवाई नसकिएपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा नियुक्ति र मन्त्री बनाउने तयारीविरुद्ध परेको रिटको सुनुवाई आगामी बुधबार मात्र हुने भएको छ । 

सर्वोच्च अदालतमा परेको रिटमाथि बहस हुँदा हुँदै समय अपुग भएपछि बुधबारबाट शुक्रबार सारिएको थियो । शुक्रबार पनि सुनुवाई नसकिएपछि यो मुद्धालाई पुनः हेर्दाहेर्दैमा राखी बाँकी रहेको सुनुवाई बुधबारसम्मका लागि सारिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

गौतमलाई सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरी राष्ट्रपतिबाट मनोनयन गरिएको विषयमा संवैधानिक प्रश्न उठाउँदै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । 

बुधबारदेखि गौतमविरुद्ध परेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ ।