काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगममा पाइलटको अभाव चरम बन्दै गएको छ । 

निगमले समयमै पाइलट तथा कोपाइलटको व्यवस्था गर्न नसक्दा न्यून जनशक्तिमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बाध्यता रहेको छ । यसले अन्तर्राष्ट्रिय उडानहरुमा जोखिम बढाएको छ भने सेवाको गुणस्तर समेत घटिरहेको छ ।  

आवश्यक पाइलट तथा को–पाइलटहरुको अभावमा राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले आफ्नो पूर्ण क्षमता अनुसार अन्तर्राष्ट्रिय उडान सेवा दिन नसकेको हो । 

लामो समयसम्म पनि पाइलट अभावको समस्या समाधान हुन नसक्दा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा भएको लगानी जोखिममा परेको छ भने अन्तर्राष्ट्रिय उडानको व्यापारमा समेत अपेक्षित लाभ हासिल हुन सकेको छैन । थोरै पाइलटकै भरमा अन्तर्राष्ट्रिय उडान भर्दा ठूलै जोखिम आइलाग्ने खतरा बढिरहेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने एयरबस तथा बोइङमा आवश्यक जनशक्तिमध्ये आधा भन्दा कमले काम चलाइरहनु पर्दा समेत सम्बन्धित निकाय भने गम्भीर देखिएका छैनन् ।  

नेपाल वायु सेवा निगमका अनुसार ‘बोइङ ७५७’को एउटा जहाजका लागि नेपाल एयरलाइन्ससँग १८ पाइलटहरु छन् । यस्तै एउटा एयरबस ‘ए ३२०–२००’ मा कर्पोरेसनसँग ९ जना मात्र पाइलट छन् । तर बोइङ ७५७ लाई पूर्ण क्षमतामा उडाउनका लागि कर्पोरेशनसँग अनिवार्य रुपमाा १४ पाइलट र १४ को–पाइलट हुनुपर्दछ । एयरबसका लागि समेत सोही संख्यामा पाइलट हुनुपर्दछ । यसको अर्थ, निगमले पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा जहाजमा कम्तीमा ५६ जना पाइलट र को–पाइलट अनिवार्य रुपमा हुनुपर्दछ । 

निगमका प्रवक्ता रामहरि शर्माले पाइलट अभावको समस्याले निकै ठूला चुनौति र समस्याहरु निम्त्याउन थालेको स्वीकार गरे । पछिल्लो तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय उडानहरुलाई राम्रो सँग संचालन गर्न र पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुलाई संचालनका लागि निगमलाई तत्कालै कम्तीमा १८ जना पाइलट तथा को–पाइलटको आवश्यकता छ । 

स्रोतका अनुसार निगमको १९० सिटे बोइङ ७५७ को जहाजमा हाल १७ जना क्याप्टेनहरु छन् । तर को–पाइलटको संख्या चाहि एकजना मात्र छ । यो जहाज समेत पूर्ण क्षमतामा संचालन गर्न कम्तीमा १४ जना को–पाइलटको आवश्यकता छ । 

यसैगरी, हालै ल्याइएको १५८ सिटे एयरबस ए ३२०–२०० लाई ७ जना क्याप्टेन र २ जना मात्र को–पाइलटले जेनतेन उडारहेका छन् । अन्तर्राष्ट्रिय उडान भर्ने जहाज ९ जनाकै भरमा उडाउनु निकै ठूलो चुनौतिपूर्ण र जोखिमपूर्ण काम रहेको विज्ञहरु बताउँछन । 

निगम संचालक समितिले एयरबस तथा बोइङका लागि आधा दर्जन पाइलटको दरबन्दी पूर्ति गर्न यसअघि नै सम्बन्धित विभागलाई निर्देशन दिइसकेको छ । प्रवक्ता शर्माका अनुसार संचालक समितिको यही स्वीकृति अनुसार घरेलु उडान भर्ने निगमका जहाजका पाइलटलाई अन्तर्राष्ट्रिय उडानहरुमा को–पाइलटको जिम्मेवारी दिने तयारी थालिएको छ । एयरबस ए–३२० का लागि १४ जना को–पाइलटहरुलाई यसअघि नै तालिम दिइसकिएको छ । सो एयरबसका लागि निगमले ५ जना विदेशी पाइलटहरुलाई ‘हायर’ गर्ने प्रक्रिया सुरु भइसकेको घिमिरेले जानकारी दिए । ती ५ विदेशी पाइलटलाई मासिक १२ देखि १४ हजार डलर प्रति महिना तलब तथा सेवासुविधा दिने हिसाबले सम्झौता हुने क्रममा छ । यसरी नेपाली पाइलटको तुलनामा विदेशी पाइलटलाई निकै धेरै रकम तिर्नुपर्ने अवस्था समेत रहेको छ । यसअघि समेत निगमले एकजना विदेशी पाइलटसँग एकवर्षका लागि सेवाको सम्झौता गरिसकेको छ ।