काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ अन्तर्गत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा शाखा कार्यालय विस्तार गरी आजबाट कारोबार सुरु गरेको छ।

योसँगै संस्थाको १४ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुबाट ग्राहकलाई वित्तीय सेवा तथा सुविधाहरु प्रवाह गर्नेछ। संस्थाले प्रदान गरिरहेका सम्पूर्ण सेवासुविधा उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले कोभिड महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुर सिमरा नगरक्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकामा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सि–आस्बालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप २ वटा शाखा र एउटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारीसमेत गरिसकेको छ।