-रुक्सना कपाली

काठमाडौ, नेपालको राजधानी
हाल काठमाडौँ उपत्यका भनेर चिनिएको, पहिले नेपाल खाल्डो(नेपाः गाः) भनेर परिचित नेपाः उपत्यका, राजधानी यस्तो छ, यस्तो हुनुपर्छ, विकास यो हो, त्यो हो भन्ने आम जनमानसमा एउटा मानसिकता नै छ। विकास के हो त भनेर आम जनमानसलाई प्रश्न गर्दा उनीहरूको मन मस्तिष्कमा अग्ला अग्ला गगनचुम्बी भवन र फराकिलो चिल्ला सडकहरूकै परिकल्पना आउँछ। कारण किनभने, हाम्रो मानसिकतामा विकास भनेको यही हो भनेर घुसाइएको छ।

तर, वास्तवमा विचार गरेर हेर्नुस, के विकास भनेको फराकिलो सडक मात्र हो ? के विकास भनेको गगनचुम्बी भवन मात्र हो ? पक्कै पनि होइन। अहिले नेपाल उपत्यका विकास गर्छु भनेर लागि परेकाहरूमा कसैले पनि विकास भनेको के हो, यस्को सीमा के हो, र यो कसरी गर्ने भनेर राम्ररी अनुसन्धान नगरेको हुनाले काठमाडौँ उपत्यका विकास होइन, विनाशतर्फ लम्कँदै छ। हालसालै चर्चामा आएको बाहिरी चक्रपथ निर्माण र स्याटेलाइट शहरको परिकल्पना पनि विकासभन्दा विनाश निम्त्याउनेतर्फको हो भन्ने कारणहरू पेश गर्छु:

  • उच्च जनसङ्ख्या वृद्धि
  • केन्द्रित विकास
  • स्रोत साधानमा असर(उर्वरा भूमिको नष्ट र खाद्यन्नमा प्रभाव, जलस्रोतको समस्या)
  • प्रदुषण र वातावरण
  • स्थानीय रैथाने जनता फेरी मर्कामा(स्याटलाइट शहर र बाहिरी चक्रपथ अन्त्य होइन सुरुवात हो विस्थापन, मुआब्जा, भरोसा गर्ने कि नगर्ने, स्थानीय जनताको आफ्नो भूमिबाट सम्बन्धविच्छेद)
  • सम्पदाको नाश
  • नेवार बस्तीको सौन्दर्य र मौलिकता जोखिममा

उच्च जनसङ्ख्या वृद्धि


सन २०११ को जनगणना अनुसार येँदे(काठमाडौँ जिल्ला)मा स्थायी बसोबास गर्नेको सङ्ख्या १,७४०,९७७ रहेको छ भने यलदे(ललितपुर जिल्ला)मा ४६६,७८४ र ख्वपदे(भक्तपुर जिल्ला)मा ३०३,०२७ व्यक्तिहरूले बसोबास गर्ने आँकडा देखाएको छ। यसलाई एकमुष्ट भन्नु पर्दा पूरै नेपाल उपत्यकामा २,५१०,७८८ को सङ्ख्यामा मानिसहरू बसोबास गर्छन। यो हिसाबले हेर्दा पूअरि उपत्यकामा एकवर्ग किलोमिटरमा ८९९ व्यक्ति बस्छन भने येँदे(काठमाडौँ)मा ३८५, यलदे(ललितपुर)मा ३८५ र ख्वपदे(भक्तपुर)मा ११९ जनघनत्व रहेको छ।

यही जनसङ्ख्या हेर्ने हो भने नेपाल उपत्यकाको क्षेत्रफल मात्र ५७० वर्ग किलोमिटर छ। नेपालको पूर्ण जनसङ्ख्या हेर्यो भने झन्डै ३ करोडको हाराहारीमा छ। यो ३ करोडको हाराहारीमा रहेको जनसङ्ख्यामा ५० प्रतिशत भन्दा बढी यही सानो क्षेत्रफलमा कोचिएर बसेका छन्। अनुमानका आधारमा दिनहुँ थक्वाः(थानकोट)बाट लाखौँ मानिसहरू भित्र बाहिर गर्छन् र यो जनचाप बाहिरिनुभन्दा बढी भित्रिएको पाइन्छ।  नेपाल उपत्यका अहिलेको अवस्थामै उच्च जनघनत्व भइसक्यो। यो कुरामा धेरै भनिरहनु पर्दैन। महानगर क्षेत्र, असं जमःको त्य साना गल्लीहरूमा मानवीय घुइँचोले यी कुरा पुष्टि गर्छ।

प्रस्तावित स्याटलाइट शहर उपत्यकाको १ कुनामा १ लाख रोपनी जग्गामा फैलनेछ। यसमा २ आना जग्गामा न्यूनतम ४ जना व्यक्तिहरू बस्ने आँकडाको हिसाबले, नेपाल उपत्यकाको यस जनसङ्ख्यामा अझ २० लाख जनसङ्ख्या थप्नेछ। के यो सानो उपत्यकाले फेरि यो ठूलो जनसङ्ख्या धान्न सक्छ ? हामी अहिलेको अवस्थामा नै नेपाल उपत्यकामा निसासिसक्यौँ। यो अतालिनुको आभास कुनै उपत्यकावासीले महसुस गर्न सक्छ। तीव्र जनसङ्ख्या वृद्धि पश्चात अन्य प्रकारका धेरै समस्याहरू उत्पन्न हुने पक्ष पनि हेरिनुपर्छ। अहम् प्रश्न यो छ।

नेपाः उपत्यकाले देशको ०.४ प्रतिशत भूभाग मात्र ओगट्छ, जब आज स्थायी बासिन्दाहका रूपमा ११.८ प्रतिशत जनसङ्ख्या यो ०.४ प्रतिशत भूभागमा छन्।

केन्द्रित विकास
अहिले हाम्रो देश संघीय शासन व्यवस्थाको अभ्यासको प्रारम्भिक चरणमा छ । अधिकारका मामिलाहरूमा भन्छन् सिंह दरबार गाउँ गाउँमा पुग्यो। तर विकास निर्माणका कार्यहरू गाउँ गाउँमा नपुग्नुको कारणले गर्दा अझै पनि नेपाल उपत्यकामा केन्द्रित अझ त येँदे(काठमाडौँ) केन्द्रित विकास निर्माण भैरहेको छ। यसका कारण पनि विभिन्न जिल्लाहरूबाट नेपाल उपत्यकामा बसाइँ सर्न बाध्य छ। केन्द्रीत विकास नै नेपाः उपत्यका, त्यसमा पनि विशेषगरी येँदे(काठमाडौँ)मा बसाइँ सर्न बाध्य हुने प्रमुख कारण हो।

उक्त प्रस्तुत तस्वीर धेरै टाढाको होइन। यही नेपाः उपत्यकासँग जोडिएको जिल्ला धादिङको हो। यहाँ एउटा पुल नभएर स्कूले बालबालिकाहरू आफ्नो ज्यान जोखिममा राखेर पढ्न जान बाध्य छन्।

यो त मात्र एउटा उदाहरण हो। नेपालमा यस्ता धेरै स्थानहरू छ जहाँ अझै पनि पहुँच पुगेकै छैन। अहिले प्रस्तावित बाहिरी चक्रपथले बस्ती जोड्ने कार्य गर्ने भनेको छ। तर, यी बस्ती जोड्न बाहिरी चक्रपथको होइन, एउटा राम्रो पुल र २ लेनको पक्की सडक भए पुग्छ। मानिसलाई खास चाहिएको चिल्ला सडक र बाटो होइन, मानिसलाई चाहिएको हो पहुँच ।  यसको आपूर्ति ८ लेनको सडकले मात्र गर्छ भन्ने होइन। त्यसैले यो पनि सोचनीय कुरा हो। हामीलाई सडकको आवश्यकता किन पर्छ र शहर निर्माण कसरी हुन्छ भन्ने बिषयमा पहिला स्पष्ट हुन आवश्यक छ ।

स्रोत साधन
उर्वरा जमिनको नष्ट, र खाद्यान्न


हामी सबैले पढ्दै आएको, सुन्दै आएको र देख्दै आएको कुराको नेपाः उपत्यकाको जमिनको उर्वरा शक्ति पनि हो। यसबारे धेरै चर्चा गरिरहनुपर्दैन होला। किनभने जति मलजल नेपाः उपत्यका बाहिरका पहाडी र तराइका खेतहरूमा गर्नुपर्छ, त्यति यहाँ गर्नुपर्दैन। नेपाः उपत्यकाको उब्जनी, परम्परागत खेतीले नै यहाँका जनतालाई जति खाए पनि नसकिने अवस्थामा थियो कुनै दिन। यसैगरी अझै पनि बुङ्ग, ख्वना, थसि, आदिका मानिसहरू आफ्नो खेतको एकपटक उब्जनीबाट वर्षभरि खान सक्छन।

उक्त प्रस्तुत तस्वीरले यो मापाङ्कन गर्छ कि उपत्यकाको कुन भूभागमा धेरै उब्जनी हुन्छ। वास्तवमा भन्नु पर्दा नेपाः उपत्यकाको पुराना टाउन प्लानिङ यही जमिनको विशेषतालाई मध्यनजरमा राखेर गरिन्थ्यो। मल्लकालमा नेपाः उपत्यकाका नेवाःहरूले बस्ती जहिल्यै माथिल्लो परेको भूभागमा बसाउँथे भने खेती गर्ने जमिन तल्लो भेगमा हुन्थ्यो। यसैगरी उपत्यकाका भित्री भेगमा सिँचाइ व्यवस्थाका लागि “तिक्व”(पानी बग्ने ढल) बनाउने चलन थियो। विभिन्न नदी खोलाबाट “तिक्व” मार्फत पानी लगेर सिँचाइ गर्थे र वर्षेनी २ ३ पटक उब्जनी हुन्थ्यो। यति मात्र नभएर, नेपाः उपत्यकालाई खाद्यान्न बढी भएर पहाडी क्षेत्रमा बेच्न पनि जान्थे।

एउटा सही नीतिको अभावले गर्दा भूमाफिया, हाउजिङ कम्पनी र प्लटिङ व्यवसायले नराम्रो फाइदा उठाउँदैछ र साथै नेपाः उपत्यकाको अनियन्त्रित शहरीकरण र अस्तव्यस्तता थप्न काम गर्दैछ। परिणाम स्वरूप नेपाः उपत्यका झन् झन् कुरुप र अधोगतिमा लाग्दैछ र तत्काल यसबारे केही गरिएन भने नेपाः उपत्यकाका लागि खतरामूलक नै हुनेछ। स्वस्थ माटो र जमिन, मानवको पोषण र स्वास्थ्यका लागि पनि महत्वपूर्ण देखिन्छ। उर्वरा जमिन र खेतले मात्र खाद्यान्न सुरक्षा हुँदैन, तर वातावरण सन्तुलन, पानी रिचार्ज हुने स्थान, अनि अन्य धेरै कारणका लागि महत्वपूर्ण हुन्छ।

कृषि विकास मन्त्रालयको सन २०१२ १३ को तथ्यांकमा नेपालले त्यस वर्षमा ९९.३४ अर्ब रूपियाँको खाद्यान्न आयात गरेको थियो। यस अगाडि २०११ १२ को मापाङ्कन भन्दा ३०.६३ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ। नेपाल खाद्यान्नको मामिलामा घाटा खाँदै आएको देश हो। यही खाद्यान्न आयात बढ्दै गयो भने र यदि नेपाः उपत्यकाका बाँकी उर्वरा र अत्ति उर्वरा जमिनमा विभिन्न तरिकाले खाद्यान्न उत्पादन गर्न सकेनौं भने हामी खाद्यान्नमा पूर्ण रूपले तराईमा मात्र होइन, भारतसँग निर्भर हुनुपर्ने स्थिति आउँछ।

हामीले यही अति उर्वरा भूमि बुङ्गमा रोपेको साग, २० मिनेटको दूरीमा यल आइपुग्दा त्यस सागको गुणस्तर र त्यही यलमा धादिङबाट २ ३ घण्टा गाडीमा राखेर ल्याएको सागको गुणस्तर र स्वस्थतामा धेरै फरक हुन्छ। उर्वरा जमिनको नाशले सिधै खाद्यान्न सुरक्षालाई असर पार्छ नै, तर सँगै अन्य विभिन्न तत्वहरूमा पनि हानी पुर्याउँछ। बाहिरी चक्रपथ निर्माण र स्याटेलाइट शहरका कारण १३ लाख रोपनी जग्गाको नाश हुनेछ।

कुनै पनि योजना नबनार्इ विकास निर्माणका कार्य भनेर उर्वरा भूमिलाई नष्ट गर्नु देशको खाद्यान्न सुरक्षाका लागि घातक हुन सक्नेछ। हामी सबैलाई अहिलेको नेपाः उपत्यका र यहाँको खाद्यान्न सुरक्षाको अभावबारे अवगतै छ। यदि परम्परागत खेतीलाई छोडेर आधुनिक कृषि, अर्गानिक खेती गर्ने हो भने खेत बारी भएकाहरूले यसबाट सुलभ आर्थिक लाभ प्राप्त गर्न सकिन्छ, र यो खाद्यान्नको दृष्टिकोणले पनि सही छ। यसैले यी अति उर्वरा जमिनलाई समय रहँदै नमासी, संरक्षण गर्ने नीति नियम ल्याउनु पर्छ। यसैगरी यी उर्वरा भूमिका जग्गाधनीलाई आर्थिक लाभ हुने गरी कृषि मन्त्रालय र सम्बन्धित निकायले ध्यान दिनुपर्छ।

भूउपयोगको सशक्त नीति ल्याउन अत्यावश्यक छ
जलस्रोत


पानीको अभाव कसरी ?

नेपाः उपत्यकाको कुल जनसङ्ख्या २०१६मा ३० लाख बढी नाघ्ने अनुमान गरिएको थियो र क्रम बढ्दो छ। बाहिरी चक्रपथ निर्माण पछि र स्याटलाइट शहर बनाइसकेपछि जलस्रोत आपूर्ति कसरी हुन्छ त ? यस प्रश्नमा विशेषगरी एउटै उत्तर आउँछ कि त डीप बोरिङ कि त कुवा खन्नु। हाल सरकारले ल्याएको मेलम्चीको पानीले के ३० लाख बढी जनसङ्ख्यालाई पुग्छ र ?

एमडीपीआईको एउटा मापन अनुसार नेपाः उपत्यकामा ४ करोड लिटर पानी एकैदिनमा आवश्यक पर्दै आएको छ। जनसङ्ख्या ४ गुणाले बढ्दा यो आवश्यकता पनि उत्तिकै बढ्ने देखिन्छ।

उक्त तस्वीरमा सोही संस्थाको मापाङ्कन हो। शायदै बाहिरी चक्रपथ वा स्याटलाइट सहर बन्ने प्रस्ताव अगाडि गरिएको अनुमान हो, त्यसैले आँकडा यस प्रकारले छ भने ती परियोजना बनिसकेपछिको अवस्था अझै दर्दनाक हुनेछ।

माथि दिइएको यस तस्वीरलाई नचिन्ने धेरै छैनन् होला। ल्वहं हिति, ढुङाले बनेको प्राकृतिक पानीको धारा, २४ घण्टा बगिरहने धारा र जमिन सतहबाट निकै तल खनेर बनाइएका गाःहिति। कुनै दिन यस्तो पनि थियो, जब यस्ता हितिहरूबाट १ मिनेटमा २० लिटरको पानी भरिन्थ्यो। गर्मीयाममा चीसो पानी आउने र जाडो याममा तातोपानी आउने यी हितिहरू अब इतिहासमै सीमित हुने अवस्थामा छन् । 

प्रदुषण र वातावरण
विकास निर्माणका कार्य र प्रदुषणको परस्पर सम्बन्ध हुन्छ। जब निर्माणको काम हुन्छ,  तब वातावरणलाई कहीँ न कहीँबाट हानी हुन्छ। तर, यसको अर्थ यो होइन कि विकास निर्माण हुनुहुँदैन वा गर्नै हुँदैन। तर, निर्माण गर्ने क्रममा वातावरणलाई पूर्ण रूपले नजरअन्दाज गरेर क्षति हुने हिसाबले काम  गर्ने शैलीलाई विकास भन्न वा मान्न सकिन्न ।

नेपाः उपत्यका यत्तिकै विभिन्न दृष्टिकोणबाट प्रदूषित भइसकेको स्थान हो। विशेषगरी अहिलेका शहरी इलाकामा प्रदुषण उच्च स्तरमा छ भने अर्ध शहरी क्षेत्रमा केही हदसम्म कम। तर बाहिरी चक्रपथका कारण पुनः नेपाः उपत्यकाभरिको वातावरणमा हानी पुग्ने देखिन्छ ।

कङ्क्रिट घर बढ्नु र तापक्रम पनि बढ्नु


नेपाः उपत्यका, विशेष गरी येँ(काठमाडौँ) महानगरमा बस्ने ७० वर्ष कटेका एक व्यक्तिलाई सोधेर हेर्नुस् यहाँको मौसम परिवर्तन बारे। कङ्क्रिट घर ह्वात्तै बढ्नाको नतिजाले गर्दा नेपाः उपत्यकाको तापक्रम पनि बढ्दैछ। किनभने कङ्क्रिटका घरहरूले तापलाई सोस्छ। यसका कारण अब येँ(काठमाडौँ)मा जाडो मौसममा पनि कुहिरो परेको कमै देख्न पाइन्छ।

बाहिरी चक्रपथ निर्माणले यसमा कतिको असर गर्छ। के ठीक्कको मौसममा बस्दै आएका उपत्यकावासीहरूले तीव्र तापक्रम वृद्धिमा आफूलाई ढाल्न सक्लान् ?

कङ्क्रिटको शहर र जमिन भासिने डर


नेपाः उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन्। आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ। रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयावह अवस्था आउनसक्ने सम्भावना छ।

उक्त तस्वीरमा हामी देख्नसक्छौँ, इँटा बिच्छ्याइएको सडक। इँटा बिच्छ्याइएको स्थानमा पानी पर्ने क्रममा पानी जमिनमुनि पुग्छ र पानी रिचार्ज हुन्छ। तर कङ्क्रिटले पानी तल पस्न दिँदैन। भूमिगत जलस्रोत विकास समितिका अनुसार किपू(कीर्तिपुर)मा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ। 

यलदे(ललितपुर)को लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनि थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ। मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको सतह थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ। त्यस्तै, पुलां सिनामङ्गलमा ०६५ सालमा ३० मिटर मुनि पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनि पुगेको छ। यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिनसक्ने विश्लेषण गरेका छन्।

नेपाः उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको हुन्छ। जमिनमुनिबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वतः खाली भएको भाग भासिनसक्छ र नेपाः उपत्यकाको अहिलेको अवस्था यही हो। यसमा अझै पनी कङ्क्रिट जङ्गललाई बढाउने हो भने यस उपत्यकाको भविष्य कस्तो होला त ? भौगोलिक भूबनावट अनुसार जमिनमुनि पानी रिर्चाज हुन्छ। नेपाः उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्यधिक घरहरु बनेपछि  समस्या बढेको हो, अझै त्यस्ता बाँकी स्थानहरूमा पनि बाहिरी चक्रपथ र स्याटलाइट शहर बन्दैछ। पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनि पानी थोरै मात्र रिचार्ज हुने गरेको छ। तर, पानी तान्ने क्रम बढिरहेको छ र नयाँ शहर आएपछि यो क्रम तीव्र हुनेछ।

भ्वताहितिमा भासिएको सडक, ४ पटक पुर्दा पनि सोही ठाउँमा जमिन भासिएको

विज्ञहरुका अनुसार बाःमति खुसि(बाग्मती नदि)को दायाँबायाँ क्षेत्रमा धेरै आकाशेपानी रिचार्ज हुन्छ। सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा त्वखा(टोखा), भुइजःसि(बुढानिल्कण्ठ), सुन्दरीजल, गोकर्ण, बाँसबारी, हिजाःखुसि(धोविखोला) क्षेत्र, सक्व(साँखु), च्वबहाः(चोभार) र फम्पि(फर्पिङ) हुन्। यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ । तर, बिडम्बना यिनै क्षेत्रमा बाहिरी चक्रपथ र स्याटलाइट शहर प्रस्ताव गरिएको छ  ।

प्रदुषण बढ्नु र स्वास्थ्य एवम् मानव जीवनमा असर


नेपाः उपत्यका, विशेष गरी अनियन्त्रित शहरीकरणको चपेटामा परिसकेका स्थानहरू कतिको दूषित र प्रदुषित छ, यसमा कुनै व्याख्या विश्लेषणको आवश्यकता छैन होला। हामी सबैलाई थाहा छ काठमाडौँ शहर विश्वकै तेस्रो प्रदुषित शहर हो भनेर। धेरै व्याख्या आवश्यक नै छैन।

वायु प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो । अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छौं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ । हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । तीमध्ये कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ । कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छ ।

धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइँला र गाडीको धुवाँधुलोका कारण कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ । ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धूलो नै काठमाडौँको आकाशमा फैलिएको धुलोको प्रमुख स्रोत हो । यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रासायनिक तत्व नहोला भन्न सकिन्न । यसको असर तुरुन्तै नदेखिन सक्छ । अबको चार–पाँच वर्षपछि देखिएला । भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ । सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्तकोषिकाले तान्छ । यसलाई पचाउन वा फुटाउन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ । विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ । पछि खत बस्छ र फाइब्रोसिस हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् । ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन् । काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन् । धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन् । सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ । जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेनेन्जाटाइटिस बढिरहेको छ ।

उक्त तस्वीरले नेपाः उपत्यकाको वायु संचालनलाई देखाउँछ। नेपाः उपत्यका कचौराको आकारमा भएको उपत्यका हुनाले यहाँको वायु बाहिरिँदैन, अर्थात यहाँको हावा यही उपत्यकामा नै घुमिरहन्छ र यहाँबाट बाहिरिँदैन। त्यसैले यहाँ हुने हरेक धुवाँ धुलो आदि इत्यादी यहीँको आकाशमा तुँवालो सरह बसिरहन्छ र त्यही प्रदुषित हावा यही उपत्यकाको वायुमण्डलमा घुमिरहन्छ। आजकै अवस्थामा “यो उपत्यका बस्न अयोग्य भैसक्यो” भनेर दाबी गरिसकेको स्थानमा नयाँ बस्ती र नयाँ शहर विस्तार गर्नु आत्महत्या हुँदैन र ? किनभने मानव जीवनका हरेक क्रियाकलापमा यी वातावरण प्रदुषणका तत्वहरू जोडिएको हुन्छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ । प्रदुषणका कारण यो नेपाः उपत्यका अहिले नै बस्न अयोग्य हुँदै गएको खण्डमा विकासको प्राथमिकता के हुनुपर्छ ?

क्रमशः अर्को अंकमा.......................