– रेखा चन्द

काठमाण्डौ । आज साउन १ गते अर्थात चालु आर्थिक वर्षको पहिलो दिन । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम दिनसम्मको हिसाब–किताब मिलान गरी नयाँ कारोबार सुरु गरेका छन्। 

राष्ट्र बैंकले ल्याएको ‘बिग मर्जर’को व्यवस्थाअन्तर्गत गत आर्थिक वर्षमा ८ वाणिज्य बैंकले सम्झौता गरेका छन्। जसमा नबिल र नेपाल बंगलादेश बैंक (एनबी) बैंकको एकीकृत कारोबार पनि सुुरु भइसकेको छ। अन्य ६ वाणिज्य बैंक भने मर्जरको प्रक्रियाका क्रममा छन्। 

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, नेपाल इन्भेस्टमेन्ट र मेगा, हिमालयन र सिभिल बैंकले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका हुन्। 

नेपालमा वाणिज्य बैंकको संख्या ११ देखि १५ सम्म भए पुुग्ने राष्ट्र बैंकको प्रतिवेदनअनुसार वाणिज्य बैंकहरु मर्जरमा जान सकेका छैनन्। अन्तिम समयसम्म पनि राष्ट्र बैंकले बैंकका सीईओ तथा सञ्चालकलाई डाकेर मर्जरमा जान दबाब दिए पनि ८ बैंकमात्रै ‘बिग मर्जर’ मा सहभागी भएका हुन्। 

त्यसो त मर्जरमा जाने बैंकहरुलाई दिइएको सेवासुुविधा आर्थिक वर्ष २०७८–७९को असार मसान्तसम्म मात्रै पाइने र नयाँ आर्थिक वर्षमा कटौती गर्ने राष्ट्र बैंकले चेतावनी दिँदै आएको थियो। 

राष्ट्र बैंकका अनुुसार आजदेखि मर्जरमा जाने बैंकहरुले राष्ट्र बैंकबाट पाउने सेवासुुविधा पाउने छैनन्। मर्जरमा जानका लागि थुुप्रै बैंकहरुबीच छलफल भए पनि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, नेपाल इन्भेस्टमेन्ट र मेगा, हिमालयन र सिभिल बैंकबाहेक अन्य बैंकको मर्जर सम्झौता हुन सकेन। नबिल बैंक र एनबी बैंकबीच भने केही दिन अघिमात्रै नबिल बैंकको नामबाट एकीकृत कारोबार सुुरु भइसकेको छ। 

नबिल र एनबीको एकीकृत भएपछि वाणिज्य बैंकको कुल संख्या २६ रहेको छ। मर्जर प्रक्रियामा रहेका ६ वटा बैंकको एकीकृत कारोबार सुुरु भएपछि भने वाणिज्य बैंकको कुल संख्या २३ मा झर्नेछ। यसअघि मर्जर भाँडिएका नेपाल इन्भेस्टमेन्ट र हिमालयनले समेत कारबाहीको डरले मेगा र सिभिलसँग मर्जरमा जाने सहमति गरिसकेका छन्।

मर्जर प्रक्रियामा रहेका बैंकको चुुक्तापुँजी कति पुग्ने ?

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू

यी दुुई बैंकबीच गत असार २ गते मर्जरसम्बन्धी समझदारी भएको थियो। मर्जरपछि बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। पुँजीका हिसाबले मर्जरपछि ग्लोबल आईएमई बीओके बैंक सबैभन्दा ठूलो बैंक बन्नेछ। मर्जरपछि बैंकको कुल पुँजी ५२.२९ अर्ब, चुक्तापुँजी ३४.४१ अर्ब, कुल निक्षेप ३८४ अर्ब, कुल कर्जा ३८० अर्बसहित कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको हो। 
ग्लोबल आइएमई बैंकले यसअघि तत्कालीन जनता बैंकलाई गाभेको थियो। 

इन्भेस्टमेन्ट बैंक र मेगा बैंक 

यी दुुई बैंकबीच असार २७ गते मर्जरमा जाने सहमति भएको हो। मेगा बैंकको १०० कित्ता भएका सेयरधनीले नेपाल इन्भेस्टमेन्टको ९० कित्ता प्राप्त गर्नेछन्। इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ। बैंकको चुक्तापुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ। 

हिमालयन बैंक र सिभिल बैंक

यी दुई बैंकको गत बुधबार प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सिभिलको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयको  १ कित्ता सेयर पाउने गरी सम्झौता भएको हो। अहिले हिमालयनको चुक्तापुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ छ भने सिभिलको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ। 

यी दुुई बैंकको कुल चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ। नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकबीच २०७ वैशाखमा मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियोलगायका विषयमा विवाद हुँदा उक्त मर्जर भाँडिएको थियो।