– रेखा चन्द

काठमाण्डौ । नेपालको बैंकिङ इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने वाणिज्य बैंकको कुल संख्या २३ मा झरेको छ। आज प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकको एकीकृत कारोबारको सुरुआत भएसँगै वाणिज्य बैंकको संख्या २३ मा कायम भएको हो।

यसअघि पुसभित्रै कुमारी–एनसीसी बैंक र ग्लोबल आइएमई– बैंक अफ काठमाण्डूले एकीकृत काराबार गरिसकेका छन् भने गत असार २७ गते नै नबिल–नेपाल बंगलादेश बैंकले मर्जर प्रक्रिया पूरा गरी नबिल बैंकको नाममा एकीकृत कारोबार गरिसकेका छन्। 

नियामक नेपाल राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुले धमाधम मर्जर तथा प्राप्ति (एक्विजिसन)मा जाने सम्झौता गरेका थिए। चालु आर्थिक वर्षको पुसमा मात्र ६ वाणिज्य बैंक एक–आपसमा मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबारको सुरुआत गरेका छन् भने भोेलि बुधबार थप २ वाणिज्य बैंकले एकीकृत कारोबार सुरु गर्दैछन्। 

भोलि पुस २७ गतेबाट नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन्।

एकीकृत कारोबारसँगै वाणिज्य बैंकहरु थप बलिया र सुदृढ बनेका छन्। बैंकहरुको जोखिम बहन गर्न सक्ने क्षमता बढ्नुका साथै सबल र सक्षम पनि भएका छन्। 

त्यसो त राष्ट्र बैंकले पनि वित्तीय स्थायित्व सुदृढ गर्न बैंकहरुको पुँजी बढाउनुपर्ने र संख्या घटाउनुपर्नेमा जोड दिँदै आइरहेको थियो। पुँजी बढाउँदा संस्था बलियो हुने, सञ्चालन खर्च घट्ने तथा अस्वस्थ प्रतिस्पर्धा घट्ने विश्वास राष्ट्र बैंकको छ।

वित्तीय सूचकहरुमा कुन बैंकको अवस्था कस्तो ? 

हालसम्म एकीकृत कारोबार गरेका वाणिज्य बैंकहरुमध्ये अधिकांश सूचकमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ। बैंक अफ काठमाण्डूलाई मर्ज गरेपश्चात कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ। 

मर्जरपछि ग्लोबल आइएमईको कुल पुँजी ५७ अर्ब, कुल सम्पत्ति ५ खर्ब ५ अर्ब र चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा ३ खर्ब ७७ अर्बभन्दा बढी र ४० लाखभन्दा बढी ग्राहक पुगेका छन्।

मर्जरपश्चात ग्लोबल आइएमई बैंकले ग्राहकलाई ३६५ शाखा सञ्जाल, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवाबाट वित्तीय सेवा प्रदान गर्नेछ। 

त्यसैगरी कुमारी बैंक र एनसीसी बैंकबीच यही पुस १७ गतेदेखि ‘कुमारी बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरुआत भइसकेको छ। चुक्तापुँजीका आधारले कुमारी बैंक दोस्रो ठूलो बैंक बनेको छ। एकीकृत कारोबारपश्चात कुमारीको चुक्तापुँजी २६ अर्ब २३ करोड, कुल सम्पत्ति ३ खर्ब ८० अर्ब, कुल निक्षेप ३ खर्ब २ अर्ब र कुल ऋण २ खर्ब ८० अर्ब रुपैयाँ पुगको छ। 

यस्तै कुमारी बैंकका कुल शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र ग्राहक संख्या २५ लाख पुगेका छन्।

त्यसैगरी आजदेखि सेञ्चुरी बैंक मर्जर गरी प्रभु बैंकले ‘प्रभु बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेको छ। यो बैंक चुक्तापुँजीका आधार तेस्रो ठूलो बैंक बनेको छ। सेञ्चुरीसँगको एकीकृत कारोबारपछि बैंकको चुक्तापुँजी २३ अर्बभन्दा बढी पुगेको छ भने कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब र कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब पुगेको छ।

यस्तै बैंकको शाखा संख्या २६५, एटीएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी पुगेको प्रभु बैंकले जनाएको छ।  

यसैगरी नेपाल बंगलादेश बैंकलाई मर्ज गरी गत असार २७ गतेबाट एकीकृत कारोबार गरेको नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५४ अर्ब ३४ करोड, कुल निक्षेप ३ खर्ब ३३ अर्ब तथा कुल कर्जा ३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ।

मर्जरपछि नबिल बैंकको २४२ शाखा सञ्जाल, २७३ एटीएम तथा १६ लाख बढी ग्राहक संख्या पुगेको छ।

उता भोलि बुधबारदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबारको सुरुआत गर्दैछन्। मर्जपश्चात बन्ने बैंकको चुक्तापुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। एकीकृत कारोबारपछि भने यो बैंक चुक्तापुँजीका आधारमा दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ। 

आगामी माघ १८ बाट हिमालयन–सिभिल बैंकले पनि एकीकृत कारोबार मिति तय गरेका छन्। 

उता लक्ष्मी बैंक र सनराइज बैंकबीच गत सोमबारमात्रै मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। 

हालसम्म मर्जर प्रक्रियामा रहेका सबै वाणिज्य बैंकहरुको एकीकृत कारोबार सुरु भएपछि बैंकको संख्या अझै घट्नेछ।