काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्यूरोमा बिजशालाले उजुरी दर्ता गराएको छ । 

बिजशालाका सम्पादक सोमनाथ बास्तोलाविरुद्ध केही अराजक समूहले सामाजिक सञ्जालहरुमा मानमर्दन हुने गरी गालीबेइज्जती गर्ने खालका स्टाटस पोस्ट गरेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको हो । 

पछिल्लो समय बिजशाला डटकमको स्वतन्त्र पत्रकारिता गर्न पाउने हकमा हस्तक्षेप हुने गरी व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने र समग्र संस्थाविरुद्ध समेत भ्रमपूर्ण स्टाटस पोस्ट गर्नेहरुविरुद्ध आज उजुरी गरिएको हो । 

उजुरीमा त्यसरी चरित्रहत्या गर्ने र सार्वजनिक प्लेटफर्महरुमा गालीगलौज गर्नेविरुद्ध कारबाहीको माग गरिएको छ । 

साइबर ब्यूरोका एसपी प्रजित केसीले लगानीकर्ताको नाममा खोलिएका केही फेक फेसबुक अकाउण्टबाट धाकधम्की दिइएको र मानमर्दन हुने गरी गालीबेइज्जती गरिएको प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । 

उनले यस्तो अपराधमा संलग्न जोसुकै भए पनि पहिचान गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । 

यसैबीच, बिजशालाविरुद्धको स्टाटस तथा फोटोसहितको आपत्तिजनक सामाग्री सेयर भएको सेयर बजारसँग सम्बन्धित दुईवटा ग्रुपले तत्कालै हटाएका थिए । ती दुवै ग्रुपका एड्मिनहरुले आफूहरुको असावधानीका कारण त्यस्तो पोस्ट ग्रुपमा आएको भन्दै क्षमायाचना समेत गरेका थिए । 

कुनै पनि संचारमाध्यमले प्रकाशन वा प्रसारण गरेका सामाग्रीउपर कसैलाई चित्त नबुझे खण्डन लेखी पठाउने र सो खण्डन सम्बन्धित संचारसंस्थाले नसमेटे सम्बन्धित निकायमा उजुरी हाल्न पाउने संवैधानिक हकविरुद्ध सामाजिक सञ्जालमा फेक आइडीहरु खोलेर चरित्रहत्या गर्ने र बिजशालाको विषयमा अनर्गल प्रचार गर्नेहरुप्रति बिजशालाको प्रकाशन संस्था सोस मिडिया प्रालिले पनि खेद प्रकट गरेको छ । मिडिया प्रालिले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय बिजशालाको लोकप्रियता देखेर अत्तालिएका कतिपयले सुनियोजित ढंगले यो काम गराएको हामीलाई आशंका छ । किनभने विगत केही दिनदेखि आफूलाई अग्रज लगानीकर्ता भन्नेहरुले पनि बिजशालाविरुद्ध विष बमन गरिरहेका थिए । प्रहरीमा उजुरी दिइसकिएकोले दोषी र यसको कारण पत्ता लाग्ने समेत आशा गरेका छौं । पहिचान लुकाएर मुखुण्डोभित्रबाट गरिएका यस्ता कुप्रचार र आउने धाकधम्कीले बिजशालाको कलम भुत्ते हुनेछैन । यथार्थ नकारात्मक होस् या सकारात्मक, बिजशालाको खबरदारी यात्रा जारी रहनेछ, बरु अझै तिखारिनेछ हाम्रो कलम ।’ 

स्मरणरहोस्, यसअघि पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बोलेका विषयलाई समाचार सामाग्री बनाएको निहुँमा बिजशाला संवाददातालाई धम्की दिने ३ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीहरुले गल्ती स्वीकारेर आइन्दा यस्तो हर्कत नगर्ने भन्दै लिखित माफी मागेपछि उनीहरुलाई छाडिएको समेत प्रहरीले जनाएको छ । 

सेयर संसारको स्पष्टीकरण
यसैबीच, स्टक मार्केटमै आधारित रहेर समाचार सामाग्री उत्पादन तथा प्रकाशन गर्दै आएको अनलाइन समाचार पोर्टल सेयर संसारले आफूहरुको लोगोको दुरुपयोग गरी निर्माण गरिएको फेसबुक पेजबाट बिजशाला र त्यसका सम्पादकको मानमर्दन हुने गरी सामाग्री पोष्ट भएकोमा दुःख व्यक्त गरेको छ । 

सेयर संसारका सम्पादक सन्दीपविक्रम राणाले आफूहरुको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न आफूहरुले यसअघि नै उजुरी गरिसकिएको समेत जानकारी दिए । बिजशाला र यसका सम्पादकविरुद्ध आपत्तिजनक पोस्ट सेयर भएको सेयर संसार नामको फेसबुक ग्रुपले सेयर संसारको मुख्य लोगो प्रयोग गरेको छ । उसले सेयर संसारकै फेसबुक ग्रुप रहेको देखाउनलाई लोगोको मात्र दुरुपयोग गरेको समेत पाइएको छ । 

सेयर संसारले आफूहरुको पेज मात्र रहेको र आधिकारिक कुनै पनि फेसबुक ग्रुप नरहेको र कोहीकसैले लोगो दुरुपयोग गरेर बनाएको भए खबर गर्न र त्यस्ता समूहमा पोस्ट भएका सामाग्रीहरुको सत्यतथ्य जाँच गरेर मात्र धारणा बनाउन समेत लगानीकर्तामा आह्वान गरेको छ।