काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदाहरु धेरै भएकाले सेवा प्रवाह प्रभावित भएकोले बिदामा पुनर्विचार आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘सरकारी बिदाहरु धेरै हुँदा जनताका काम गर्ने समय कम भएको छ’, उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएकोले बिदाबारे पुनर्विचार आवश्यक छ। गृहकार्य गरेर यसमा पुनर्विचार गरिनुपर्छ।’

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए। ‘त्यस बिदालाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ’, उनले भने।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गरेको छ।