काठमाण्डौ । बिमा क्षेत्रको पूँजीवृद्धि र केही बिमा कम्पनीहरुले आकर्षक बोनश शेयर गर्ने हल्ला भाइरल भएपछि साताको पहिलो दिन आइतबार समग्र शेयरबजारमै बुलिस ट्रेण्ड देखियो । 

बिमा समूहको सूचकमा पत्याउनै नसक्ने गरी वृद्धि भएपछि त्यसले समग्र बजारलाई माथि उचालेको हो । 

बिमा समूहको सूचक आइतबार एकैदिन ३१५.९५ अंकले बढ्यो भने समग्र नेप्से परिसूचकमा १७.४० अंकको बृद्धि हुँदा नेप्सेले नयाँ इतिहास कायम गर्दै १३४३.९३ अंकको उचाई प्राप्त गर्यो । 

आइतबार शेयर बजार खुल्दा नेप्से परिसूचक १३२६.४८ अंकमा थियो । त्यसपछि बिमाको शेयर कारोबार चम्किँदा नेप्से लगातार उकालो लागेको थियो । दिनभरि कारोबार भई १७.४० को दोहोरो अंकको उछाल देखिएको हो । 

आइतबार १९ लाख २५ हजार कित्ता शेयर ३८ सय २८ वटा कारोबारबाट किनबेच हुँदा ८९ करोड ९७ लाख पूँजी परिचालन भयो । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  लिमीटेडले एफपीओ जारी गर्ने र ४० प्रतशित भन्दा बढी बोनश शेयर वितरण गर्ने हल्ला फैलिँदा यसको शेयरले सर्किट हिट गर्यो । आइतबार नेपाल लाइफको शेयर मूल्य ३ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । नेपाल लाइफको मात्रै १० करोड हाराहारीमा किनबेच भएको छ । समग्रमा आइतबार एकैदिन नेपाल लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बढी कारोबार हुने १० कम्पनीमध्ये तीन वटा बिमा क्षेत्रका छन् । बढी कमाउने १० कम्पनीमा पनि तीनवटा बिमाकै छन् । नेपाल लाइफपछि सबैभन्दा बढी नेशनल हाइड्रोको शेयर कारोबार भयो । कम्पनीको तीन लाख ३२ हजार कित्ता सेयर सात करोड नौं लाख रुपैयाँमा किनबेच भएको थियो । 

आइतबार बढी कारोबार हुनेमा नेपाल बैंक, ग्लोबल आइएमइ, नेशनल लाइफ, सिटिजन्स बैंक, एनएमबी बैंक, प्रूडेन्सिय इन्स्योरेन्स, सानिमा बैंक र अपि पावर रहेका छन् । नेपाल बैंकको पाँच करोड ५९ लाख रुपैयाँको किनबेच भएको छ । 

आइतबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ३.८१ र १.१३ अंकले बढे । आइतबार सबै समूहको नेप्से सूचक हरियोमय भयो ।