काठमाण्डौ । बजेटको बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरुबीच संसदमा जुहारी चले पनि पूँजीबजारको उत्साह चाहि मर्दै गएको छ । बजेटपछि खासै उत्साह नदेखिएको पूँजीबजारको परिसूचक(नेप्से परिसूचक) बुधबार ८.५६ अंकले ओरालो लागी १५२३.५६ अंकमा झर्न पुग्यो । 

बजेटपछि बिमा समूहप्रतिको लगानीकर्ताको टुटेको आकर्षण बुधबार पनि जोडिएन । बिमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात १००.१२ अंकले ओर्लियो । बजेटपछिका तीन दिन लगातार हाइडोपावर समूहको झुम्मिएका लगानीकर्ता बुधबार त्यसतर्फ समेत खासै आकर्षित देखिएनन् । जलविद्युत समूहको सूचक पनि दोहोरो अंक अर्थात ८२.७८ अंकले ओरालो लाग्यो । 

उत्पादनमूकल समूह १४.५८ अंकले ओर्लियो भने वाणिज्य बैंक समूह ४.६३ अंकले तल झर्यो । विकास बैंक समूह १.८१ अंकले तल झर्दा  अन्य समूह १.१८ अंकले घट्यो । अधिकांश समूहको सूचकमा रातो पोतिदा होटल समूह १७.९३ अंकले उक्लियो भने बित्त समूहले ०.३ अंकको झिनो प्रगति हासिल गर्यो । बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः १.७५ र ०.७४ अंकले तल झरे । 

बुधबार १ सय ३१ कम्पनीका २३ लाख ५१ हजार १ सय ३३ कित्ता सेयर १ अर्ब २२ करोड ६४ लाख रुपैयाँमा किनबेच भयो । 

पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जर सकेर संयुक्त कारोबार संचालन गरी आइतबारदेखि सेयर कारोबारको निलम्बन फुकुवा भएको मेगा बैंकले सबैभन्दा बढी अर्थात १० करोड ५९ लाख बराबरको कारोबार गर्यो । ५० प्रतिशत हकप्रद घोषणा गरेको सानिमा बैंकको १० करोड ३४ लाख मूल्यको सेयर किनबेच हुँदा नेशनल हाइडोको ७ करोड ८९ लाख रुपैयाँको किनबेच भयो । सिटिजन्स इन्टरनेशनल बैंकले  ७ करोड ४३ लाखको सेयर कारोबार गर्यो भने चिलिमे हाइडोको ६ करोड ९४ लाख रुपैयाँको किनबेच भयो । 

बुधबार कारोबारको हिसाबले उत्कृष्ट १० कम्पनीको सूचिबाट इन्स्योरेन्स समूह बाहिरिन पुगेको छ । धेरै सेयर किनबेच भएका कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले ओगट्न सफल भएका छन् भने ४ स्थान हाइड्रो पावर कम्पनीले ओगटेका छन् ।