काठमाण्डौ । नेपालको दक्षिणतर्फका जिल्लाहरुसँग खुल्ला सीमा जोडिएको भारतको बिहार राज्यमा लकडाउन अन्तको घोषणा गरिएको छ । 

बिहारका मुख्यमन्त्री नितिश कुमारले आफ्नो ट्वीटर ह्याण्डलबाट लकडाउन हटाइएको घोषणा गरेका हुन् । 

कोरोना संक्रमणको घट्दो संख्यालाई मध्यनजर गरी बिहारमा लकडाउन अन्त गरिएको उनले दाबी गरेका छन् । 

तर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने बिहारका सबै क्षेत्रमा कफ्र्यू आदेश लागू हुने उनले बताएका भारतीय मिडियाहरुले जनाएका छन् । 

उनले अझै पनि भीडभाडबाट जोगिन आवश्यक रहेको बताएका छन् । बुधबारदेखि त्यहाँ लकडाउन खुल्नेछ । 

लकडाउन खुल्लाको निर्णय तत्काल एक साताका लागि मात्र भनिएको छ । अर्थात १५ जुनसम्म बिहारको लकडाउन खुल्नेछ । तत्काल त्यहाँका स्कूल कलेजहरु बन्द रहनेछन् । अनलाइन पढाईलाई जारी राखिनेछ । यस्तै, त्यहाँका पसलहरु एक दिनको अन्तरालमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहनेछन् । 

यस्तै, दिउँसो निजी गाडीको आवतजावत र सर्वसाधारणको हिँडडूलमा समेत रोक लाग्नेछैन । 

यस्तै, सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशत यात्रुहरुलाई मात्र राख्न पाइने नियम समेत लागू गरिएको छ । 

एकसाताको अवस्था हेरेर लकडाउन खुकुलो बनाउने रणनीतिमा थप निर्णय गरिने बताइएको छ ।