काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले लिलामीमा राखेको सेयर खरिदका लागि आउँदो भदौ १५ गतेसम्म बोलपत्र पेस गर्न सकिने भएको छ।

यसअघि बैंकले यही भदौ ८ गतेसम्म लिलामी सेयरमा बोलपत्र पेस गर्न सकिने जनाएको छ। तर स्थानीय प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौमा भदौ ३ गते (बुधबार) राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेपछि बैंकले बोलपत्र पेस गर्ने मिति बढाएर भदौ १५ गते पुर्याएको हो। 

बैंकले संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता सेयर लिलामीमार्फत बेच्न राखेको हो। विद्यमान संस्थापक तथा सर्वसाधारणले लिलामीमा राखेको सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिने सेयरको प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले सोही मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति/संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १५६ कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। अब लगानीकर्ता संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति वा संगठन तथा संस्थाले भदौ १५ गते दिउँसो २ बजेसम्म काठमाण्डौको नागपोखरीस्थित एनएमबी क्यापिटलको कार्यालयमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।