काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले निष्कासन गरेको १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ। 

बैंकले १० वर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

बैंकले १ हजार अंकित दरका कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो। जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम (५ प्रतिशत अर्थात् ३२ हजार इकाइ सामूहिक कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। यसैगरी बाँकी ९ लाख ६० हजार इकाइले हुने आउने कुल ९६ करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तबरबाट बिक्री खुलाइएको छ।

यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नबिल इन्भेस्टमेन्टको नक्सालस्थित कार्यालय वा वेबसाइट तथा बैंक अफ काठमाण्डूको कमलपोखरीस्थित कार्यालय वा वेबसाइटमार्फत अनि सि–आस्बा सेवामा सभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रलाई इक्रा नेपालले मोडरेट क्रेडिट रिस्क जनाउने इक्राएनपी–आईआर त्रिपल बी प्लस ग्रेडिङ प्रदान गरेको छ। यो क्रेडिट रेटिङ प्राप्त संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने तथा मध्य कर्जा जोखिम रहने संस्थाका रुपमा लिइन्छ। 

यो ऋणपत्रले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत कात्तिक २४ गते स्वीकृति प्रदान गरेको थियो।