काठमाण्डौ। बिओके क्यापिटल मार्केट लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। 

सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरु पनि अनुमोदन गरेको छ।

यसका साथै सभाले विशेष प्रस्तावअन्र्तगत क्यापिटल मार्केटको रजिस्ट्रर्ड कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको छ।

सभामा अध्यक्ष मिश्रले बिओके क्यापिटल मार्केटको उद्देश्य प्राप्तिका लागि सहयोग पुर्याउने सेयरधनी, ग्राहक तथा नेपाल सरकारका सम्बन्धित निकायलगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडप्रति सञ्चालक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे। 

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केटले ग्राहकलाई उत्कृष्ट सेवाहरु दिँदै आइरहेको जनाएको छ। भविष्यमा पनि प्रविधिहरुको उच्चतम प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास क्यापिटलले लिएको छ।