काठमाण्डौ । रु. १ करोडको जीवन बीमा गराएका एक व्यक्तिको २६ दिनमै मृत्यु भएको छ । मृत्युको २६ दिनअघि मात्रै बीमा गराएका कारण ती व्यक्तिको मृत्युपछि परिवारले १ करोडको दाबीभुक्तानी पनि पाउने भएका छन् । 

अनिश्चित जीवनमा बीमाले कति ठूलो महत्व राख्छ र बेलैमा बिमा गरे आफ्नो मृत्युपछि आफ्ना प्रियजन र परिवारले कसरी राहात पाउनसक्छन् भन्ने उदाहरण यो घटना भएको हो । 

घटना हो नवलपरासी जिल्लाको  । सो जिल्लाका नेपाली कांग्रेस जिल्ला समिति उपसभापति सुवासचन्द्र गिरीको भदौ १ गते ३८ वर्षको उमेरमा निधन भयो । कोरोनाका कारण उनको निधन भए पनि उनले साउन ४ गते एलआइसी नेपालमा रु. १ करोडको जीवन बिमा गराएका थिए । मृतक गिरी नवलपरासीका व्यवसायी पनि थिए । 

कोरोना संक्रमण भएपछि भैरहवा अस्पताल, युनिभर्सल मेडिकल कलेजमा उपचार गराइएको थियो । त्यहाँ अवस्था जटिल बनेपछि उनलाई ललितपुरका पाटन अस्पतालमा ल्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

रु. १ करोडको बीमा गराएको २६ दिनकै छोटो अवधिमा बिमितको मृत्यु भएको संभवत नेपालमै पहिलो घटना हुनसक्ने एलआइसी नेपालका कर्मचारी बताउँछन् । 

भदौ गते मृत्यु भएका गिरीका परिवारजनले एलआइसीमा असोज १ गते दाबीभुक्तानीका लागि आवेदन पेश गरेका थिए । एलआइसी नेपालले पनि त्यसको प्रक्रिया छिटोछरितो गरी रु. १ करोडको चेक तयार गरिदिएको छ । 

एलआइसी नेपालकी एजेन्सी म्यानेजर प्रभा ज्ञवालीले कम्पनीको तर्फबाट दाबीभुक्तानीका लागि चेक तयार भइसकेको र गिरी परिवारलाई असोज २६ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरिने जानकारी दिइन् ।