काठमाण्डौ। नियामक निकाय बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। 

हाल नेपालमा एउटामात्रै नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको अवस्थामा बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको हो। बीमा समितिले हिजो वैशाख १६ गते एक सूचना जारी गर्दै थप एउटा पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ।

पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रको लगानीमा थप एउटा पुनर्बीमा कम्पनी स्थापना प्रक्रिया अघि बढाउन लागिएको सूचनामा उल्लेख छ। पुनर्बीमा कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति वा लगानीकर्ता संस्थाले सूचना प्रकाशित भएको २१ औँ दिन १२ बजेभित्र समितिको नाममा सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावत व्यक्ति वा संस्थाको नाम/ठेगाना स्पष्ट खुल्ने गरी समितिमा दर्ता गर्नुपर्नेछ। यसका लागि प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ हुनुपर्ने बीमा समितिले सर्त अघि सारेको छ। 

प्रस्तावकले पहिले नै पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो लगानीकर्ताको प्रस्ताव अमान्य हुने बीमा समितिले स्पष्ट पारेको छ। प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव दर्ता गर्दा बीमा समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुदाँ न ९ मा व्यवस्था भएबमोजिमका संस्थापना तथा दर्तासम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरुसमेत समावेश गरेको हुनुपर्नेछ। 

प्रस्तावले पेस गरेका प्रस्तावमध्ये बीमा समितिबाट तयार हुने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई छनोट गरिने बीमा समितिले जनाएको छ।