काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नियामक बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। 

कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सोही सभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गर्दै बीमा समितिमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो। 

बीमा समितिले कम्पनीको प्रस्तावित हकप्रद निष्कासन गर्न अनुमति दिएको हो। बीमा समितिको स्वीकृतिसँगै कम्पनीले सेयरधनीहरुका लागि १०ः४ को अनुपातमा हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी भइरहेको कम्पनीका एक अधिकारीले जानकारी दिए। 

कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर अनुमोदन गरेको छ। बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। 

अब कम्पनी यही चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।