काठमाण्डौ । बीमा समितिबाट हिमालयन रि–इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति पाएको छ। 

कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थ मन्त्रालयले प्रारम्भिक आशयपत्र प्रदान गरेको हो। यससँगै अब कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउनेछ।

हिमालयन रि इन्स्योरेन्समा उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ। त्यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतको लगानी रहेको छ। 

हाल नेपालमा एउटामात्रै पुनर्बीमा कम्पनीको रुपमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी रहेको छ।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव आह्वान गरेको थियो। सोही प्रस्ताव आह्वानको अन्तिम दिन अर्थात जेठ ५ गते बुधबारसम्म ५ कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए। 

नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव पेस गर्नेमा काठमाण्डौ रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि रहेका थिए। आवेदक परेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई छनोट गरिने बीमा समितिले जनाएको थियो। 

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि गत फागुनमा अध्ययन समिति बनाएको थियो। उक्त अध्ययन समितिले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता रहेको प्रतिवेदन निकालेको थियो। सोही अध्ययनकै आधारमा बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। 

निजी लगानीमा स्थापना हुने नयाँ पुनर्बीमा कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ हुनेछ।