– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाली समाजमा एउटा उखान छ– ‘हावा नचली पात हल्लिँदैन।’ 

बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले यो उखान हिजोआज सेयर बजारमा निकै सान्दर्भिक बनेको छ। केही समयअघि पनि बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले सेयर बजारमा निकै चर्चा पाएको थियो। अहिले पनि यही विषयले सेयर बजार तातेको छ। 

सेयर बजारमा मात्रै नभएर स्वयं नियामक निकाय बीमा समितिका कर्मचारीहरुबीचमै बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयमा निकै चर्चा चलेको छ। ‘हाल निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी १ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ रहेको छ’, बीमा समिति स्रोतले भन्यो, ‘अब चुक्तापुँजी बढाएर निर्जीवन बीमा कम्पनीहरुको साढे २ अर्ब र जीवान बीमा कम्पनीहरुको ५ अर्ब पुर्याउने विषयमा गृहकार्य भइरहेको छ।’ 

बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेल पनि अहिलेको अवस्थामा बीमा कम्पनीहरुको पुँजी कम रहेको स्वीकार गर्छन्। ‘आवश्यकता र जोखिमका आधारमा बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिनुपर्छ’, उनले भने, ‘यस विषयमा हामीहरुले अध्ययन गरिरहेका छौँ, निकट भविष्यमै यो पुँजी वृद्धिको योजना ल्याउनेछौँ।’