काठमाण्डौ । बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामाथि छलफल गर्न बीमा समितिको बोर्ड बैठक बस्दैछ। 

बैठक साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। बैठकले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि बनाइएका योजनाहरुमाथि छलफल गरेर कुनै निर्णय हुन सक्ने स्रोत बताउँछन्।

पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले योजना तयार पारी बीमा समितिलाई बुझाइसकेको छ। ‘कार्यदलले पेस गरेको योजनामा आज तेस्रोपटक बोर्ड बैठकमा छलफल हुन लागेको हो, यसअघि दुईपटक छलफल भइसक्यो’, स्रोतले भने, ‘आज निर्णय हुन सक्छ।’

यसअघि बसेको बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको छ। जसअनुसार न्यूनतम चुक्तापुँजी जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ।हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ। 

बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि हकप्रद वा मर्जरको अप्सन दिइने स्रोत बताउँछन्। ‘मर्जरमा जान केही बीमा कम्पनीहरुले आपसमा छलफल सुरु गरिसकेका छन्’, स्रोतले भन्यो। 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि आज बोर्ड बैठक बस्ने जानकारी दिए। ‘आजको बैठकमा अन्य विषयमा छलफल हुन्छ, बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनाहरुमाथि पनि छलफल गर्ने अजेन्डा पनि छ’, उनले भने। 

पुँजी वृद्धिको योजनाहरुमा आजै निर्णय हुन्छ भन्ने विषयमा अहिले कही भन्न नमिल्ने सिलावलले बताए। ‘बैठकपछि सबै कुरा बाहिर आउँछ’, उनले भने।