– अनन्त्य सुन्दर

काठमाण्डौ । नियामक निकाय बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो। 

बीमा समितिको सञ्चालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समयसीमा दिएको छ। यसका साथै बीमा समितिले बीमा कम्पनीहरुलाई ३० दिनभित्रमा तोकिएको पुँजीवृद्धिको योजना पेस गर्न निर्देशन पनि दिएको थियो। समितिले निर्देशन दिएको झन्डै २७ दिन हुँदा ५ वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना समितिमा पेस गरेका छन्। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिमा अहिलेसम्म ५ वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना पेस गरेको बताए। ‘पुँजीवृद्धि योजना पेस गर्नेमा नेको इन्सुरेन्स, मेट लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स छन्’, उनले भने। 

अहिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुको आकार सानो हुनुका साथै संख्या धेरै भएकाले समितिले पुँजीवृद्धि योजना ल्याएको पौडेल बताउँछन्। ‘समितिले कम्पनीहरुले पेस गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्नेछ’, उनले भने, ‘बीमा कम्पनीहरुको प्रकृति हेरी पुँजीवृद्धिका लागि समितिको प्राथमिकता भने मर्जर नै रहेको छ।’  

पौडेलका अनुसार पुँजीवृद्धि योजना पेस गर्न समितिले बीमा कम्पनीहरुलाई वैशाख १० सम्मको समय दिएको छ। ‘समयसीमासम्म पनि योजना पेस नगरेमा कम्पनीहरुलाई समितिको ऐन–नियमअनुसार कारबाही हुन्छ’, उनले भने।