काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ।
बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ललितपुरको कुपन्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका हुन्। अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवं प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे।
प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भाग लिन प्राधिकणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए। तीमध्ये २८ जनाले आज सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सबमिट गरेका छन्।
सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट ७ दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ।
अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पूजन ढुंगेल (अधिकारी) र निर्देशक दिनेशकुमार लालको उपस्थिति थियो।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago