काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरुलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन्।
बीमा प्राधिकरणले बिहीबार वीरगन्जमा आयोजना गरेको बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तर्क्रियामा अध्यक्ष सिलावलले यस्तो निर्देशन दिएका हुन्। उनले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्ण रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए। ‘बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ’, उनले भने, ‘कानुन, नियम, निर्देशिका र निर्देशनहरु पूर्ण रुपमा पालना गर्नुपर्छ, कानुन, नियम, निर्देशिकाविपरित कार्य गरेमा अबको कारबाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला।’
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरुलाई निर्देशन दिए।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जान पाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तुर बढी भएको, लघुबीमामा नयाँ बीमालेखको अभाव देखिएकोलगायतका धारणा राखेका थिए।
कार्यक्रममा उठेका प्रश्नहरुको जबाफमा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको सिस्टम निर्माणका क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिकाबमोजिम काम गर्न निर्देशन दिए।
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माद्वारा सञ्चालित कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नाराणबाबु लोहनी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।
16 minutes ago
26 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago