काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै सर्वसाधारणको भीडभाड कम गर्ने गरी सेवा संचालन गर्न सरकारले निर्देशन दिएको छ । यो निर्देशनसँगै सर्वसाधारणको भीडभाड हुने क्षेत्रमा सजगता अपनाउन थालिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुको नियामक संस्था नेपाल राष्ट्रबैंकले सोमबार साँझ ९ बुँदे निर्देशन जारी गरेको छ भने बीमा कम्पनीहरुको नियामक बीमा समितिले समेत कोभिड संक्रमणलाई ध्यानमा राखी निर्देशन जारी गर्ने तयारी सुरु गरेको छ । 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार सरकारले भीडभाड नगर्न र त्यस्तो नहुने व्यवस्था मिलाउन निर्देशन दिएपछि बीमा समितिले पनि बीमा कम्पनीहरुका नाममा भोलि या पर्सि निर्देशनहरु जारी गर्ने तयारी थालेको छ । 

सिलवालका अनुसार कोभिडको संक्रमण फैलिन नदिन बीमा कम्पनीहरुमा पनि बैंकहरुमा जस्तै वर्कफ्रम होम, सिफ्टवाइज होम लगायतका उपाय अबलम्बन गर्न सुझाइनेछ । 

बीमा कम्पनीहरुलाई आफ्नो सेवा प्रवाह गर्दा भरसक डिजीटल माध्यम प्रयोग गर्न समेत निर्देशन दिने तयारी भएको उनले जानकारी दिए । 

बैठक, गोष्ठी, सेमीनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा यथासंभव यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन समेत बीमा कम्पनीहरुलाई निर्देशन दिइनेछ । 

कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्ने लगायतका विषयमा निर्देशन दिइने जानकारी दिए । 

बीमा समितिका कर्मचारीहरुको हकमा भने तत्काल सिफ्टवाइज वर्क वा वर्क फ्रम होमको व्यवस्था लागू हुने छैन । थोरै जनशक्ति भएका कारण उनीहरुलाई अनिवार्य कार्यालयमै उपस्थित गराएर आवश्यक सबै सजगता र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी काममा लगाइने अध्यक्ष सिलवालले जानकारी दिए ।