काठमाण्डौ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरुले सजकता तथा सुरक्षा अपनाउनेसम्बन्धमा ७ बुँदे निर्देशन जारी गरेको छ। 

समितिले आज जारी गरेको निर्देशनमा सबै बीमा कम्पनीहरुले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तत्काल अपनाउनुपर्ने सावधानीस्वरुप मास्क, साबुन, पानी र सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउनेका साथै आवश्यक सुरक्षाका अन्य सम्पूर्ण उपायहरु अवलम्बन गर्ने निर्देशन दिएको छ।  

यसैगरी भौतिक दूरी कायम गरी भीडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था बीमा कम्पनीहरुले मिलाउनुपर्नेछ। सेवाग्राहीको आवातजावत कम हुने गरी बीमा कम्पनीहरुले दिने सेवाहरुमा यथासम्भव विद्युतीय माध्यमको व्यवस्था गर्ने गराउनुपर्ने छ।

बीमकहरुबाट सञ्चालन गरिने बैठक, अभिकर्ता तालिम, सेमिनारजस्ता कार्यक्रमहरु भौतिक दूरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नुपर्ने अवस्थाबाहेक अन्य समयमा विद्युतीय माध्यम वा भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्नेछ। बीमकमा कार्यरत कर्मचारीहरुलाई आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरणको उपाय अपनाउनुपर्नेछ। 

बीमकमा कार्यरत कर्मचारीमा संक्रमणको शंका लागेमा तुरुन्त परीक्षणको व्यवस्था मिलाउने, संक्रमण देखिएका कर्मचारीहरुलाई आइसोलेसन गर्ने र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यक होम आइसोलेसनको तत्काल व्यवस्था गर्नुपर्नेछ। 

यसैगरी सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्यविभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थिति गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।