काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत धितोपत्र खरीद गर्न चाहने संस्थागत लगानीकर्ताले धितोपत्र बोर्ड जुनसुकै बेला आवेदन दिन सक्ने भएका छन् ।

धितोपत्र बोर्डले गत भदौ ३ गते बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानीकर्तालाई आवेदन आह्वान गरेको थियो। सोहीअनुरुप बोर्डसमक्ष मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी, म्युचुअल फन्डलगायत ५८ वटा कम्पनीले आवेदन पेस गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए। 

बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न ३५ दिने म्याद सकिए तापनि अब जुनसुकै समयमा बोर्डले तोकेको मापदण्डमा बुक बिल्डिङ विधिमा सहभागी हुन  योग्य संस्थागत लगानीकर्ताका लागि आवेदन दिन सकिने सहप्रवक्ता केसी बताउँछन् । ‘अब बोर्डले आवश्यक कागजात प्रक्रिया पूरा गरेका योग्य संस्थालाई बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थाको अब केही दिनभित्र अनुमति दिइने तयारी समेत भइरहेको उनले सुनाए ।

निश्कासन हुने धितोपत्र खरिद गर्न हालसम्म ५८ वटा योग्य संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 
बोर्डका अनुसार यो विधिमार्फत धितोपत्र खरीद गर्न चाहने संस्थागत लगानीकर्ताले बोर्डले तोकेको मापदण्ड पूरा गरे जुनसुकै बेला पनि आवेदन दिनसक्ने गरी नयाँ व्यवस्था भएको हो । 

यसका साथै अब केही दिनभित्र बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न चाहने योग्य संस्थागत लगानीकर्ताहरुको छनौट गरी बोर्डबाट अनुमतिप्राप्त योग्य संस्थागत लगानीकर्ताहरुको सूची सार्वजनिक गर्ने तयारी समेत भइरहेको सहप्रवक्ता केसीले बताए । 

संगठित संस्थाले आईपीओ निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्न तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ गत साउन २८ गतेदेखि लागू गरेको छ।