काठमाण्डौ । राजधानी सार्ने निर्णयका कारण आक्रोशित बुटवलबासीले सडकमा आगो दन्काउन थालेपछि त्यसलाई निभाउने उपायस्वरुप प्रदेश सरकार र संघीय सरकारले नै आफ्नो प्रयास सुरु गरेका छन् । 

प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलबाट दाङ सार्ने निर्णयविरुद्ध बुटवल र आसपासको क्षेत्रमा आगो दन्किन थालेपछि त्यसलाई मत्थर पार्न प्रदेश सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको हो । 

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयले जनाएको छ । 

बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी देशकै चर्चितमध्येको एक पर्यटकीय गन्तव्य हो । यसैलाई आधार बनाएर प्रदेश सरकारले राजधानी सारेको निर्णयबाट रुष्ट बुटवल र आसपासका बासिन्दालाई फकाउने उद्देश्यले यस्तो निर्णय गरेको देखिन्छ । 

बुटवलबासी र प्रदेश सरकारको निर्णयबाट रिसाएका सो क्षेत्रका नेतालाई फकाउने उद्देश्यले संघीय सरकारले पनि आफ्नो प्रयास थालेको छ । जसअनुसार बुटवल क्षेत्रबाटै निर्वाचित नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरिएको छ । 

पौडेल राजधानी सार्ने निर्णयका कारण प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रिय पात्र शंकर पोखरेलसँग रुष्ट छन् । केही दिनअघि प्रधानमन्त्रीकै अगाडि पौडेल र पोखरेलबीच चर्काचर्की परेको थियो । 

रुपन्देहीमा रहेको अस्थायी राजधानी दाङ सार्ने निर्णयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पनि सहमति जनाएपछि विष्णु पौडेल आज अपरान्ह ४ बजे बस्न लागेको नेकपा सचिवालय बैठक बहिस्कारको तयारीमा छन् । 

स्रोतहरुकाअनुसार उनलाई फकाउने प्रयास भइरहेको छ । उनलाई फकाउने र बुटवलबासीको आक्रोश समेत कम गर्ने उद्देश्यले आजै बस्ने सचिवालय बैठकले पौडेललाई अर्थमन्त्री बनाउने प्रस्तावमा सहमति दिने बुझिएको छ । पौडेल भने कुनै पनि किसिमको प्रलोभनमा नपर्ने भन्दै प्रदेश ५ को राजधानी बुटवलमै रहनुपर्ने पक्षमा छन् ।