काठमाण्डौ । बुटवलको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा रहेकै अवस्थामा मृत्यु भएका ३५ वर्षीय युवकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

उनलाई कोरोना संक्रमणको आशंका गरी सो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिरहेकै बेला आइतबार बिहान उनको मृत्यु भएको थियो । 

मृत्युपछि उनको स्वाब झिकेर परीक्षणका लागि काठमाण्डौको टेकूस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशालामा दुई चरणमा भएको उनको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको आफूहरुलाई खबर दिइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । 

रोजगारीका लागि दुबई गएका ती युवक चैत ६ गते रुपन्देहीको सैनौमना नगरपालिका वडानम्बर ४ स्थित डेरा पुगेका थिए । उनलाई दुबईबाट आउँदादेखि नै ज्वरो आइरहेको परिवारजनले बताएका छन् । ज्वरो नझरेपछि उनलाई चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।