काठमाण्डौ । पछिल्लो समय सेयर बजार बलियाभन्दा पनि कमजोर कम्पनीका सेयरभाउ उचालिन थालेको छ। लगानीकर्ता पनि सुनियोजित ढंगले मूल्य बढाइने कम्पनीको सेयरमै लगानी गरेर भेँडोपन देखाइरहेका छन् । 

हरेक बुलिस ट्रेन्डमा बलिया कम्पनीभन्दा कमजोर कम्पनीहरुको भाउ सोचेभन्दा बढी उकालो लाग्नु स्वाभाविकजस्तै देखिन थालेको छ। तर यस्तो बेला सोझासाझा लगानीकर्ताहरु फस्ने सम्भावना पनि बढी रहेको हुन्छ। 

सोझा र साना लगानीकर्ताहरुले बजार ट्रेन्ड र कम्पनी प्राविधिक र आधारभूत पक्ष नहेरी बढी मूल्यका भन्दा कम मूल्यका कम्पनीहरुमा लगानी गर्ने परिपाटी उनीहरु स्वयंमका लागि घात हुनसक्ने बजार जानकारहरु बताउँछन्। किनकि बुलिस बजारमा खेलाडीहरुले साना र कमजोर कम्पनीका सेयर कर्नरिङ गरेर मूल्य उचाल्ने र आफूले सोचेअनुसारको मूल्यमा बेचेर बाहिरिने हुँदा सोझा र नयाँ लगानीकर्ताहरु फस्ने गरेको ठहर उनीहरुको छ। 

पछिल्लो समय विकास बैंकहरुको सेयरमूल्यमा निकै बढोत्तरी भएको छ। तर आधारभूत हिसाबले केही कमजोर विकास बैंकहरुको मूल्य ह्वात्तै बढ्नुमा बजारमा खेलाडीहरु सक्रिय रहेको प्रस्ट हुन्छ। 

यसको पछिल्लो उदाहरण कर्पोरेट डेभलपमेन्ट बैंक देखिएको छ। यो बैंकको सेयरमूल्य आज यो समाचार तयार पार्दासम्म १८ रुपैयाँले बढेर प्रतिकित्ता ७४२ रुपैयाँ पुगिसकेको छ।

जिल्लास्तरको यो विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा घटेर २ करोड रुपैयाँ हाराहारीमा सीमित बनेको छ। जब कि गत आर्थिक वर्षमा यो बैंकको नाफा ३ करोड रुपैयाँ बढी रहेको थियो। 

चुक्तापुँजी ४१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ पनि २२ करोड ५४ लाख रुपैयाँबाट घटेर १७ करोड ३७ लाख रुपैयाँमा झरेको छ। 

यही अवधिमा बैंकको ईपीएस पनि १६.१६ रुपैयाँबाट घटेर ५.०३ रुपैयाँमा सीमित बनेको छ। तेश्रो त्रैमासको अन्तिम दिनको मूल्यले हिसाब गर्दा बैंकको मूल्य आम्दानी अनुपात १४८.११ गुणा रहेको छ। 

बैंकको खराब कर्जाको अनुपात ४.५३ प्रतिशत रहेको छ । यो निकै खराब अवस्था हो ।  

त्यसो त बजारमा अहिले यो कम्पनीले छिटै नेपाल धितोपत्र बोर्डबाट १५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाउन लागेको हल्ला फैलाएर सेयरभाउ उचाल्ने काम भइरहेको एक बजार जानकारले बताए। ‘यो बैंकको हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा छ, तर स्वीकृत भइसकेको छैन’, ती बजार जानकारले भने, ‘स्वीकृत हुने हो वा होइन ठेगाना छैन, तर केही व्यक्तिले छिटै स्वीकृत हुँदैछ भनेर हल्ला चलाएर यो बैंकको सेयरमूल्य उचाल्ने काम गरिरहेका छन्। स्वीकृत नै हुँदा पनि अहिलेको बजारमूल्य स्वभाविक देखिन्न ।’

त्यसैले यो बैंकको सेयरभाउ बढ्नुलाई अस्वाभाविक मान्नुपर्ने ती बजार जानकार बताउँछन्। ‘हल्लाकै पछाडि दौडिएर कम्पनीको वित्तीय अवस्था नहेरी लगानी गर्नु मूर्खताबाहेक अन्य केही हुँदैन’, उनले भने।

ती जानकारको भनाईमा यस्ता केही कम्पनीहरुमा लगानीकर्ताहरुले आँखा चिम्लिएर पैसा खन्याइरहेका छन् । यदि बजारको अहिलेको प्रवृतिमा हठात् परिवर्तन आयो भने त्यस्तो बेलामा डूब्ने भनेकै यस्ता कमजोर कम्पनीमा लगानी गर्नेहरु हुने उनीहरु बताउँछन् ।