काठमाण्डौ। चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने सहर बन्न सफल भएको छ। 

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा परेका सबैभन्दा धेरै १०० जना बेइजिङ सहरका छन्। गत वर्ष यो सूचीमा बेइजिङबाट ३३ जना अर्बपतिमा परेका थिए। चीनले कोरोना नियन्त्रणका लागि गरेको पहल, यसको प्रविधिमा विकास र स्टक मार्केटका कारण बेइजिङ शीर्ष स्थान ओगट्न सफल भएको हो। 

योसँगै बेइजिङले अमेरिकाको न्युयोर्कलाई पछि पारेको छ। यस वर्ष न्युयोर्कका ९९ जना धनाढ्य यो सूचीमा परेका छन्। 

विगत ७ वर्षयता न्युयोर्क धेरै अर्बपति भएको सहरमा पहिलो स्थानामा थियो।

बेइजिङका सर्वाधिक धनाढ्य झाङ विमिङ हुन्। उनी टिकटकका संस्थापक र बाइटडान्सका मुख्य कार्यकारी अधिकारी हुन्। उनको कुल सम्पत्ति ३५.६ बिलियन डलर रहेको छ।

यस्तै न्युयोर्कका सर्वाधिक धनाढ्य पूर्वमेयर माइकल ब्लुमबर्ग हुन्। उनको कूल सम्पत्ति ५९ बिलियन डलर रहेको छ।

त्यसो त बेइजिङमा अर्बपतिहरुभन्दा न्युयोर्कका अर्बपतिहरुसँग ८० बिलियन डलर बढी सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ। – एजेन्सी