– भक्तराज रसाइली

काठमाण्डौ । जीवनमा व्यावसायिक सफलता हासिल गर्न सीपको प्रमुख भूमिका रहेको हुन्छ । संसारभर सीप बेचेरै जीवन धान्न सहज हुने भएकाले समेत कोही न कोही कुनै न कुनै सीपप्रति लगाव आवश्यक राख्छन् । व्यवसाय गर्दा नवीनतम सोचका साथ अलिक फरक ढंगले गरे व्यावसायिक उचाइ हासिल गर्न सकिन्छ ।

यस्तै बेकरी व्यवसायमा १३ वर्ष कार्यानुभव सँगालेर २०७१ सालबाट लाइभ बेकरी नामक बेकरी व्यवसाय अघि बढाएका जुम्ल्याहा दाजुभाइको रोचक र सक्सेस स्टोरी यस साता पस्केका छौँ ।

चारजनाको लगानी रहेको लाइभ बेकरीमा सुरुमा नयाँ ढंगको बेकरी खोल्नेमा संखुवासभा चैनपुर घर भई हाल बुढानीलकण्ठ बस्दै आएका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण पौडेल हुन् । बेकरी उत्पादन लाइभ देखाएर नै बिक्री गर्ने नयाँ कन्सेप्ट ल्याई बेकरी व्यवसायमा जोडेका पौडेल दाजुभाइले उच्च सफलतामा डोर्याएका छन् ।

वि.सं. २०७१ सालमा गोल्फुटारमा करिब २० लाख लगानी गरेर लाइभ बेकरी उत्पादन गरेको उद्योगले हाल उपत्यकाका विभिन्न ६ स्थानमा शाखा विस्तारसमेत गरिसकेको छ । गोल्फुटार पहिलो शाखा भए पनि हाल पेप्सीकोलामा रहेको शाखालाई नै मुख्य शाखा बनाइएको छ ।

लाइभ बेकरीका गोल्फुटार, चाबहिल, काँडाघारी, शंखमुल, बालकोट र कमलविनायकमा शाखा खुलेका छन् । प्रत्येक शाखाबाटै लाइभ उत्पादन गर्दै बेकरी बिक्रीवितरणसमेत गरिँदै आएको छ ।

कमलपोखरीमा रहेको कृष्ण पाउरोटी उद्योगमा १३ वर्ष काम गरी आफैँ उद्यममा होमिएको जुम्ल्याहा दाजुभाइ राम उत्पादन र लक्ष्मण बिक्रीवितरण तथा मार्केटिङ खट्दै आएका छन् । पेप्सीकोला शाखामा मात्र दैनिक १ हजारभन्दा बढी सेवाग्राहीको बाक्लो भीड हुने गरेको छ ।

हाइजेनिक र लाइभ कन्सेप्ट भित्र्याउने पहिलो बेकरी नै लाइभ बेकरी भएको पौडेलद्वयको दाबीसमेत छ । बन्दाबन्दै ताजा र स्वस्थ बेकरी उत्पादन गर्दै आएको लाइभ आगामी दिनमा मोफसलमा समेत फ्रेन्चाइज दिने तयारी गरिरहेको उनीहरु सुनाउँछन् ।

यतिमात्र हैन सीटीईभीटीबाट छोटो अवधि (३९० घन्टा) को तालिमसमेत दिँदै आएको लक्ष्मण बताउँछन् । १ वर्षअघिबाट तालिम दिएको बेकरीले हाल १०० जना नयाँ बेकरी उद्यमीसमेत उत्पादन गरिसकेको छ ।

बेकरीले हाल करिब १३० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेको छ । बेकरीमा कार्यरत कर्मचारीलाई श्रम ऐनअन्तर्गत तलब सुविधा, आवास, खाना–कपडा र साधारण औषधोपचारसमेत दिइरहेको लक्ष्मण जिकिर गर्छन् । 

४१ वर्षीय जुम्ल्याहा पौडेल दाजुभाइ उद्यम मिलेर सँगैमात्र गर्दैनन् उनीहरु बुढानीलकण्ठमा बुवाआमा सँगै मिलेर बस्छन् । हाल दाजुभाइ एकै घरमा बस्ने परिपाटी हराउँदै जाँदा उनीहरुको मिलनबाटसमेत हामीले केही सिक्न सक्दछौं ।

लक्ष्मण भने ५३ सालमा विदेश जाने उद्देश्यले राजधानी छिरेका थिए । पासपोर्ट बनाएर भिजासमेत आवेदन गरिसकेका उनले तत्कालीन बेला पाकिस्तानी एयरलाइन्सको प्लेन क्र्यासको घटना देखेपछि भने विदेश जाने मन गरेनन् । अनि आरआर क्याम्पसमा आईए भर्ना भई अध्ययनलाई अघि बढाए । त्यतिबेला उनले चप्पल लगाएर काठमाण्डौका विभिन्न ठाउँमा किताब बेचेर कमिसनमा जीविकोपार्जन गर्थे ।

२०५६ सालमा राम पनि राजधानी आएपछि कृष्ण पाउरोेटीमा शोरुम कन्ट्याक्टमा लिएर बेकरी व्यवसायमा हात हाल्न पुगे । कुल बिक्रीको २ प्रतिशत कमिसनमा दुवै दाजुभाइ खट्दथे । ‘शोरुममा १४ घन्टा उभिएर बस्दा कहिलेकाहीँ खुट्टासमेत बाउँडिन्थ्यो’, लक्ष्मणले मलीन स्वरमा भने ।

लाइभ बेकरीले हाल ३०० प्लस आइटमका बेकरीहरु बिक्रीवितरण गर्दै आएको छ । बेकरीसँगै चिसो पेयपदार्थ, चियाकफी पिउन अनि बर्थडे पार्टी समारोहलगायतका कार्यक्रमहरु गर्न १०० जना सिट क्षमतासमेत उपलब्ध रहेको छ । बेकरीले आफ्ना ग्राहकहरुलाई निःशुल्क होम डेलिभरीको समेत व्यवस्था गरिरहेको छ ।

लाइभ बेकरीले आफ्नो उत्पादन उपत्यकाका प्रख्यात स्कुलहरुमा समेत बिक्रीवितरण गर्दै आइरहेको छ । मोफसलमा समेत फ्रेन्चाइजे खोल्न इच्छुकहरु आबद्ध हुन सक्ने सञ्चालक लक्ष्मण सुनाउँछन् ।

कृष्ण पाउरोटीमा गरेको सम्झौता सकिएलगत्तै पौडेल दाजुभाइले १ कप कफी पिउँदा केक तयार गर्ने नयाँ कन्सेप्टलाई नै मूर्त रुप दिँदा आज लाइभ बेकरीको उचाइ दिनानुदिन बढ्दै गएको छ । परम्परागत प्रक्रियालाई आधुनिक धारमा मोडिफाई गर्दै लाइभ बेकरी उत्पादन गर्ने उनीहरुको सोचमा सरसापट र साथीभाइबाट लगानी जुटाई खुला भान्साबाट बेकरी उत्पादन गरेका थिए ।

पौडेल दाजुभाइले सञ्चालनमा ल्याएका लाइभ बेकरीमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको दाबी गरे । २०७० सालमा गोल्फुटारबाट लाइभ बेकरीले उत्पादन सुरुआत गर्दा अनपेक्षित बिक्री हुँदा पौडेल दाजुभाइ निकै उत्साहित भए ।

नयाँ तौरतरिकाबाट नयाँ आइटम उत्पादनमा उपभोक्तालाई खुशी बनाएपछि हालसम्म पनि पछि हट्न नपरेको पौडेल दाजुभाइ जिकिर गर्छन्। आफ्नो व्यक्तिगत नामभन्दा पनि अहिले त उनीहरुका लागि लाइभ बेकरी नै पहिचान बनिसकेको उनीहरु सुनाउँछन् ।

राम्रो कच्चापदार्थ, सस्तो बिक्री मूल्य र अधिक बिक्री गर्ने रणनीति मुताबिक नै लाइभ बेकरीले सबैका मनमनमा बस्न सफल बनेको पाइयो । ‘कृष्ण पाउरोटीमा छँदा दैनिक गुजारा गर्नमात्र सम्भव हुन्थ्यो’, राम भन्छन्, ‘बढ्दो ग्राहक र सन्तुष्ट सेवाग्राही नै हाम्रा अमूल्य सम्पत्ति हुन् ।’

लाइभ बेकरीमा ३५ जनाले सीप सिकेर अहिले उपत्यकाका विभिन्न स्थानमा स्वरोजगार भएकोमा पनि पौडेल दाजुभाइ दंग छन् । यस क्षेत्रबाट पब्लिक रिलेसन (पीआर) नै सम्पत्ति कमाएको उनीहरुको ठम्याइ छ ।

उसो त लाइभ बेकरीकै आम्दानीले २ ठाउँमा घडेरी, घर र गाडी जोड्न दाजुभाइ सफल बने । प्रत्यक्ष बनाएर भान्सा नै देखाएर उपभोगका लागि योग्य बेकरीको उत्पादन तथा बिक्रीवितरण गर्न पाएकोमा पौडेल दाजुभाइ निकै खुशी पनि भेटिए ।

नेपालले विदेशबाट बेकरीका प्रडक्टहरुसमेत आयात प्रतिस्थापन गर्दै आइरहेको सन्दर्भमा नेपाली समाजमा बेकरीको ट्रेन्ड भर्खरै समातेको लक्ष्मण सुनाउँछन् । सबै आउटलेटमा समेत जोड्दा दैनिक कारोबार ३ लाख रुपैयाँ हुँदो रहेछ ।

बेकरी उत्पादनको सीप बाँड्न आतुर पौडेल दाजुभाइ १० हजारजनालाई रोजगार बनाउन सकिने दाबी गर्छन् । सीईटीभीटीको तीनमहिने तालिमसमेत दिँदै आएको बेकरीले २५ हजारमा प्रयोगात्मक अध्ययन गराउँदछ ।

परिवार पाल्नलाई विदेश जानै नपर्ने दाबी गरेका रामले बेकरीमा धैयर्ता र मेहनत नै सफलताको कडी भएको बताए । १५ लाखदेखि ३० लाखसम्मको लगानीले लाइभ बेकरीका फ्रेन्चाइजे खोले नेपालमै बसेर मासिक २ लाख कमाउन सहजै सकिने जिकिर उनको छ ।

लाइभ बेकरीमा गरिएकाले सुरुको २० लाख लगानी रिकभर केबल ६ महिनामै भएको जिकिर गरेको पौडेल दाजुभाइ सफल भएको सुनाउँछन् । लगानी रकम १ वर्षमा रिकभर गर्न सकिने र स्वदेशमै बसेर बेकरी व्यवसाय गरे प्रसस्त कमाउन सकिने उनीहरु बताउँछन् ।