काठमाण्डौ । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमीटेले निर्माण गर्न लागेको ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ऋण व्यवस्थापनमा नयाँ प्रयोग गरिएको छ । 

अधिकांश आयोजनाहरुले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी(डिपीआर) र पिपिए(विद्युत खरीद सम्झौता) भएपछि मात्र सहबित्तीयकरणका लागि बैंकहरुसँग ऋण सम्झौता गर्ने गरेका भए पनि यो कम्पनीले भने डिपिआरको काम नसकिँदै नवील बैंक र नेपाल एसबीआई बैंकसँग ऋण व्यवस्थापन गर्ने समझदारी गरेको हो । 

बिहीबार कर्मचारी सञ्चयकोषमा आयोजित एक कार्यक्रमका बीच सञ्चयकोष र दुुई बैंकका उच्च व्यवस्थापन तहका अधिकारीबीच २५ अर्ब रुपैयाँसम्मको बैकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । 

कर्मचारी सञ्चयकोषको तर्फबाट कोषका कार्यबाहक प्रशासक दीपक रौनियार, नेपाल एसबीआई बैंक लिमीटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर र नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ऋण व्यवस्थापन सम्बन्धी सम्झौता हस्ताक्षर गरेका हुन् । 

यो आयोजनाको कुल लागत करिब ७० अर्ब हुने अनुमान गरिएको छ । सोमध्ये ३० प्रतिशतले हुन आउने २१ अर्ब रुपैयाँ स्वपूँजीबाट र बाँकी ७० प्रतिशतले हुन आउने ४९ अर्ब रुपैयाँ ऋण व्यवस्थापनबाट जुटाइनेछ ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण हाललाई तीनवटा स्रोतहरुमा विभाजन गरेको छ । पहिलो स्रोत बैंक तथा बित्तीय संस्थाहरुबीचको सहबित्तीयकरणबाट जुट्ने, दोश्रो स्रोत गैरबैकिङ बित्तीय तथा अन्य संस्थाहरुबाट, ठूला कोषहरु, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्थाबाट कर्जा लिएर जुट्ने र तेश्रो स्रोत रुपमा वित्तीय उपकरणहरु जारी गरी जुटाइने बताइएको छ । 

यो आयोजनाको बित्तीय व्यवस्थापनका लागि वाणिज्य बैंकहरुले गर्नसक्ने २५ अर्बसम्मको ऋण लगानीको कन्सोर्टियम लिड एसबीआई र नवीलले गर्ने र समूह नै गठन गरी अन्य बैंकलाई समेत सामेल गराउने गरी काम अगाडि बढ्ने नवील बैंकका सीइओ अनिल शाहले जानकारी दिए । 

सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमीटेडका अध्यक्ष तथा कर्मचारी सञ्चयकोषका संचालक प्रा.डा. डिल्लीराज शर्माले नेपालीकै लगानीमा ६८८ मेगावाट क्षमताको आयोजनाको निर्माण गरी सबै कुरामा विदेशी सहयोग नै चाहिन्छ भन्ने गलत मान्यतालाई आफूहरुले चिर्न खोजेको बताए । उनले अधिकांश जलविद्युत आयोजना भन्दा फरक ढंगले सुरुवातमै सहवित्तीय करणका लागि बैंकहरुसँग सम्झौता भएको भन्दै बैंकहरुले समेत सुरुवातदेखि नै जलविद्युत आयोजना निर्माण हुँदासम्मको अवधिमा अनुुभव हासिल गर्ने बताए । 

यो आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ । 

सुर्खेत जिल्लाको चौकुने गाविसस्थित बेतान भन्ने स्थानमा निर्माण गर्न लागिएको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणकर्ता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमीटेडको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा सञ्चयकोषमा रकम जम्मा गर्ने करिब ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।

हाल यो कम्पनीको संचालनमा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीबाट संस्थागत प्रतिनिधिहरु १ १ जना र कम्पनीले सेयर प्रमाणपत्र वितरण नगर्दासम्मको कोषको कार्यविधि बमोजिम सञ्चयकर्ताको प्रतिनिधित्व हुने गरी कोष संचालक समितिले मनोनयन गरेको ३ जना गरी जम्मा ६ सदस्यीय संचालक समिति रहेको छ ।