काठमाण्डौ । यूरोपियन युनियन(इयू)को एक शक्ति राष्ट्र बेलायत त्यहाँबाट अलग्गिने जनमतसंग्रहको ताजा परिणामसँगै बेलायत, विश्व, छिमेकी भारत र नेपालको अर्थतन्त्रमा समेत असरहरु देखा पर्न थालेका छन् । 

जनमसंग्रहले दिएको जनादेशका कारण पाउण्ड स्टरलिङ डलर ३१ वर्षकै तल्लो स्तरमा आइपुगेको छ भने विश्वका प्रमुख सेयरबजारमा हलचल पैदा भएको छ । भारतीय रुपैयाँ एकैदिन तल्लस्तरमा पुगेको छ । बाँकी युरोपियन युनियनका सदस्य राष्ट्रहरुको मुद्रामा समेत भारि गिरावट देखिएको छ । 

नेपालको बजारमा समेत इयूबाट बेलायत टुक्रिने जनादेशका असरहरु देखा पर्न थालेका छन् । सुनको भाउमा एकैदिन तोलाको ३ हजार रुपैयाँ वृद्धि भएको छ भने डलरको भाउ समेत ह्वात्तै बढेको छ । यसले नेपाली रुपैयाँ अवमूल्यनको क्रम सुरु भएको छ । भारतसँगको स्थिर विनिमयदरका भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ स्वतः अवमूल्यनमा पर्ने गर्छ । 

यस अलावा बेलायतसँग नेपालले गर्ने व्यापार, बेलायतबाट आउने रेमिटान्स र पेन्सनको क्षेत्रमा समेत ठूलै असर देखिने निश्चित छ । 

बेलायत इयूबाट बाहिरिने जनादेशसँगै विश्वको अर्थतन्त्रमा के कस्तो असर पर्यो वा परिरहेको छ ?कहाँ के भयो ? विभिन्न विदेशी समाचार एजेन्सीको सहयोगमा तयार पारिएको एक रिपोर्ट :

पाउण्डमा ३१ वर्षकै ठूलो गिरावट
ब्रिटेन इयूबाट बाहिरने पक्षमा त्यहाँका ५२ प्रतिशत जनताले मत खसालेका छन् । यसले अर्थतन्त्रमा उथलपुथल मच्चाइदिएको छ । यो परिणामले ग्लोबल करेन्सीमा समेत निकै उथलपुथल भएको छ । नयाँ जनादेशसँगै ब्रिटेनको मुद्रा पाउण्डमा ३१ सालकै सबैभन्दा बढी गिरावट देखिएको छ । पाउण्ड एकैदिन ९ प्रतिशतले घटेर १९८५ सालकै स्तरमा आइपुगेको छ । 

पाउण्ड बाहेक यूरो, अस्ट्रेलिया, न्यूजिल्याण्ड, मेक्सिको, जापान र साउथ अफ्रिकाको करेन्सीमा पनि भारि गिरावट देखिएको छ । 

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार शुक्रबार पाउण्ड ९.५ प्रतिशत घटी १.३४६ प्रति डलरमा आइपुगेको छ । 

यूरो ३ प्रतिशत घटेर १.१०४ डलरमा आइपुगेको छ भने अस्ट्रेलियन डलर २.८ प्रतिशत घटेर ७४.०२ सेन्ट्समा आइपुगेको छ । न्यूजिल्याण्ड डलर २.५ प्रतिशतले गिरावट आई ७०.७१ सेन्ट्समा आइपुगेको छ । मेक्सिकन पेसो ३.९ प्रतिशत गिरावट भई १८.९७ प्रति डलरमा आइपुगेको छ । साउथ अफ्रिका रेन्ड ५ प्रतिशत तल झरी १५.१६ मा आइपुगेको छ । स्वीस फ्रेन्क १.५ प्रतिशत तल गिरी ९७.२८ प्रति डलरमा आइपुगेको छ । नर्वे क्रोन १.५ प्रतिशत गिरी ८.६८० प्रति डलरमा आइपुगेको छ । पोल्याण्डको मुद्रा जोल्टी ५.९ प्रतिशत गिरावट आई ४.०७३ डलरमा आइपुगेको छ । 

नेपालसँग स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँमा समेत निकै ठूलो गिरावट देखिएको छ । भारु सन् २०१३ अगस्ट २८ को अवस्थामा आइपुगेको छ । शुक्रबार बजार खुल्दा भारुको सटही दर ६७.८८ प्रति डलर थियो । तर ब्रिटेन इयूबाट बाहिरिने खबरका कारण एकाएक भारु अवमूल्यन भई ६८.८५ को नजिक आइपुगेको छ । रिजर्ब बैंक अफ इण्डियाले भारुलाई थप अवमूल्यन हुन नदिन आवश्यक कदम चालिसकेको बताइएको छ । 

नेपाली मुद्रा समेत शुक्रबार एकाएक डलरसँग अवमूल्यन भयो । नेपाल राष्ट्रबैंकले शुक्रबारको डलरको भाउ १०७ रुपैयाँ ९६ पैसा तोकेको थियो । तर बेलायत इयूबाट बाहिरिने पक्का भएको समाचार फैलिएसँगै निजी बैंकहरुले १०९ रुपैयाँ भन्दा बढीमा डलर बिक्री गरेका छन् । 

सेयर बजारमा सन्नाटा
बेलायत इयूबाट बाहिरिने पक्का भएसँगै विश्वका सबै सेयर बजारमा गिरावट र सन्नाटा छाएको छ । धेरै लगानीकर्ताले एकैदिन अर्बौ रुपैयाँ गुमाएका छन् । एशिया मार्केटमा निकै ठूलो गिरावट देखिएको छ । जापानको बेञ्चमार्क इण्डेक्स निक्केई १३५० र हङकङको बेञ्चमार्क इण्डेक्स हेंगसेंग १००० अंकले झरेको छ । यसको अलावा कच्चा तेलमा समेत ७ प्रतिशत भन्दा बढीले गिरावट देखिएको छ । तर सुनको मूल्यमा ८ प्रतिशत भन्दा बढीको उछाल आएको छ । भारतीय बेञ्चमार्क इण्डेक्स सेन्सेक्समा समेत सन् २०१५, १५ जनवरीपछिको सबैभन्दा ठूलो गिरावट रेकर्ड भएको छ । 

भारतमा टाटा मोटर्स, टाटा स्टीलको सेयर मूल्य क्रमशः १३ र १० प्रतिशतले तल झरेको छ । अधिकांश समूहको सेयरमा ५ देखि १३ प्रतिशतसम्मको गिरावट देखिएको छ । 

तेलमा मन्दी, सुनमा उछाल
ब्रिटेन यूरोपियन युनियनमा नरहने जनमतसंग्रहको फैसलापछि सुनमा उछाल देखिएको छ । यो फैसलापछि सुन २ वर्षकै उचाईंमा पुगेको छ । ग्लोबल मार्केटमा सुनको बढोत्तरी अधिक भएपछि सर्किट ब्रेक भएको छ । तर कच्चा तेलको भाउमा पनि ७ प्रतिशतको गिरावट देखिएको छ । 

ग्लोबल मार्केटमा सुन ८ प्रतिशतसम्म बढेको देखिएको छ । सुन ग्लोबल मार्केटमा प्रति औंस १३५५ डलर पुगेको छ । यसैगरी, चाँदीमा समेत ४ प्रतिशतको बढोत्तरी रेकर्ड भएको छ । चाँदी १८.०६ डलर प्रति औंसको विन्दूमा पुगेको छ। 

उता, कच्चा तेलको मूल्यमा चाहि ७ प्रतिशतको  गिरावट दर्ज भएको छ । शुक्रबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ४६.८१ डलरको स्तरमा आइपुगेको छ । ब्रेन्ट क्रूडमा समेत ५ प्रतिशत गिरावट आएर प्रति ब्यारेल ४७.६० डलरमा आइपुगेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ब्रिटेन इयूबाट अलग हुने फैसलाको सबैभन्दा सकारात्मक असर सुनको भाउमा देखिएको छ । जानकारहरुका अनुसार सेयर बजार र मुद्राहरुमा यो फैसलाबाट भारि गिरावटहरु रेकर्ड भएका छन् । जसको फाइदा सुनलाई भएको छ । अन्यत्रको सबै बजारमा मन्दी आएपछि लगानीकर्ता जमेरै सुन खरीद गर्नतर्फ लागेका छन् । विश्लेषकहरुले सुनको खरिदारीको यो रफ्तार केही दिनसम्म जारी नै रहने र सुन प्रति औंस  १४५० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।