– कृष्णप्रसाद शर्मा

लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ। 

बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाण्डौ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ। 

त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँचजना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन्। 

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो। सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ।