काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसविरुद्धको अर्को एउटा भ्याक्सिन तयार भएको छ।

वैज्ञानिकहरुले अब यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ। यदि यो भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएमा सस्तैमा अर्थात ५०० रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध हुने बताइएको छ। 

इन्पिरियल कलेज अफ लन्डनका वैज्ञानिकहरु यो भ्याक्सिनमाथि रिसर्च गरिरहेका छन्। कोरोनाबाट अतिप्रभावित देशको सूचीमा बेलायत पाँचौँ स्थानमा छ। 

वैज्ञानिकहरुले मानिसमा भ्याक्सिनको परीक्षणको पहिलो चरणको मन्जुरी प्राप्त हुनेमा विश्वस्त छन्। उनीहरु भन्छन्, ‘हामी यो भ्याक्सिन मानिसमा कति सुरक्षित छ भन्ने कुराको पनि अनुसन्धान गरिरहेका छौँ।’

भ्याक्सिन विकास गर्ने समूहमा इन्चार्ज प्रोफेसर रोबिन शेटोकले आफूहरु सस्तो र सुरक्षित भ्याक्सिन विकासमा लागिरहेको बताए। ‘हामीसँग भ्याक्सिन विकास लागि पर्याप्त पैसा छ’, उनले भने, ‘यो पैसाले हामी सजिलै भ्याक्सिन विकास गर्न सक्छौँ।’ 

प्रोफेसर रोबिनले यदि मानिसमा गरिएको परीक्षण सफल भएमा पहिलो चरणमा यो भ्याक्सिनको थप परीक्षण ६ हजार मानिसमा गरिने जानकारी दिए। यद्यपि उनले सबै कुरामा सफलता मिल्दै गएमा पनि यो भ्याक्सिन सन् २०२१ भन्दा अगाडि बजारमा उपलब्ध नहुने स्पष्ट पारे। 

प्रोफेसर शेटोकले भ्याक्सिन विकास गर्न बेलायत सरकारले ५० लाख डोज तयार गर्नका लागि पैसा उपलब्ध गराएको छ। 

प्रोफेसर रोबिनद्वारा विकसित यो भ्याक्सिन बेलायतमा बनेको कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन हो। यसअघि अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले पहिलो भ्याक्सिन बनाएका थिए। जुन अहिलेसम्मकै सबैभन्दा प्रभावकारी भ्याक्सिनका रुपमा परीक्षण भइरहेको छ।

उक्त पहिलो भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकी भ्याक्सिन डाक्टर सारा गिल्बर्टको नेतृत्वमा तयार भएको हो। सारा गिल्बर्टको दाबी छ यदि यो परीक्षण पूर्ण रुपमा सफलमा यही वर्षको सेप्टेम्बरसम्म मानिसको पहुँच पुग्नेछ। – एजेन्सी