काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ। 

बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान गरेको हो। यी भ्याक्सिनहरुलाई अमेरिका र युरोपमा यसअघि नै अनुमति दिइसकिएको छ। 

एमआरएले अब यी भ्याक्सिनलाई बेलायतको खोप अभियानमा यो उमेर समूहका बालबालिकालाई राख्ने वा नराख्ने विषय बेलायतको ज्वाइन्ट कमिटि अन भ्याक्सिनेसन एन्ड इम्युनाइजेसनमा निर्भर रहने जनाएको छ। 

अमेरिकामा भने १२ वर्षदेखि १५ वर्षका बालबालिकालाई यसअघिदेखि नै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन दिइँदै आएको छ। यस्तै फ्रान्स र जर्मनीले पनि यो उमेर समूहका बालबालिकालाई यो महिनादेखि खोप लगाउने योजना बनाइरहेको छ। – एजेन्सी