काठमाण्डौ। बेलायत सरकारले बुधबारबाट बिटक्वाइनलगायत डिजिटल मुद्राको विज्ञापनमा प्रतिबन्ध लगाएको छ। 

विज्ञापन कम्पनीहरुले क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्न उक्साएको भन्दै डिजिटल मुद्राको विज्ञापनमा बेलायत सरकारले रोक लागाएको हो। बेलायतको स्वतन्त्र विज्ञापन नियामक संस्था द एड्भरटाइजिङ स्ट्यान्डर्ड अथोरिटी (आशा) ले अनुभव नभएका मानिसलाई गलत प्रभावमा सहजै पारेर बिटक्वाइन खरिद गर्न उक्साएको भन्दै विज्ञापनमा प्रतिबन्ध लगाएको हो।  बेलायतस्थित लुनो नामक विज्ञापन एजेन्सीले गत फेब्रुअरीमा लन्डनको सार्वजनिक स्थान तथा ट्रान्जिटमा उक्साउने खालको विज्ञापन राख्दै उल्लेख गरेको थियो, ‘यदि तपाइँले सार्वजनिक ठाउँमा विज्ञापन देख्नुभएको छ भने यो खरिदको समय हो।’  

यसरी विज्ञापन आउन थालेपछि आशाले बिटक्वाइनको विज्ञापनले गलत सन्देश दिएको भन्दै रोक लगाएको हो। आशाका अनुसार विज्ञापनकै भर परेर बिटक्वाइनमा लगानी गर्नेहरुमा अधिकांश ३० वर्षभन्दा कम उमेर समूहका रहेका छन्। ‘यसरी बिटक्वाइनमा लाग्नुको कारण यो उमेर समूहमा निडर र आत्मविश्वास बढी देखिएको छ’, आशाले भनेको छ, ‘तर वित्तीय ज्ञान तथा अनुभव बिना बिटक्वाइनमा लगानी गर्नु अत्याधिक जोखिम हुन्छ।’ 

लुनोलाई बिटक्वाइनमा लगानी जोखिम पनि हुने भएकोले आमलगानीकर्ता उकास्ने खालको विज्ञापन नगर्न भनी आशाले सचेत पनि गराएको छ। 

हाल बिटक्वाइनको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएपछि बेलायतको नियामक निकायले सर्वसाधारणलाई सचेत गराउन विज्ञापनमा प्रतिबन्ध लागाएको हो। तर बैंक अफ इंग्ल्यान्डले भने डिजिटल मुद्रा ल्याउने तयारीका साथ यो महिनाको सुरुआतमै पत्रकार सम्मेलन गरेको थियो। – एजेन्सी