काठमाण्डौ । बेष्ट फाइनान्सको स्थगित २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज भदौ ३० गते हुँदैछ। 

कम्पनी सञ्चालक समितिको गत साउन २८ गते बसेको बैठकले स्थगित वार्षिक साधारणसभा भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

यसअघि कम्पनीले गत वैशाख ३१ गते वार्षिक साधारणसभा डोकेको थियो। तर कोभिड रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण सभा स्थगित गरिएको थियो। 

सभा प्रयोजनका लागि कम्पनीले गत भदौ ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ भदौ ७ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य भएका छन्। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा महिला सञ्चालकको नियुक्ति अनुमोदन हुनेछ। 

त्यस्तै नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहबाट सञ्चालकहरुको निर्वाचन पनि सभाले गर्नेछ।