काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा नकारात्मक प्रभाव पार्ने गरी मौद्रिक नीतिको समीक्षा ल्याएको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले वाणिज्य बैंक तथा विकास बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदर अन्तर(स्प्रेडदर)लाई घटाउने व्यवस्था गरेको हो । 

राष्ट्रबैंकका अनुसार वाणिज्य बैंकहरुको स्प्रेडदर हालको ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा सीमित गरिएको छ भने विकास बैंक र वित्त कम्पनीको स्प्रेडदर ५ प्रतिशतबाट घटाएर ४.६ प्रतिशतमा झारिएको छ ।

राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले लामो समयदेखिको तयारीअनुसार नै स्प्रेडदर घटाइएको दाबी गरे । ‘पहिलादेखि नै लामो समयपछि वाणिज्य बैंकको स्प्रेडदरलाई ४ प्रतिशतमा ल्याउने भनिएको थियो । त्यसकारण स्प्रेडमा अहिले जेजस्तो संसोधन भएको छ, यो नयाँ व्यवस्थाले बित्तीय क्षेत्रको स्थायीत्वमा सहयोग गर्नुको साथै बजारलाई सन्तुलनमा राख्छ भन्ने तर्क हो ।’ उनले थपे ।