कामाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएका कारण ब्याजदर घट्ने सम्भावना बढेर गएको छ। 

कोरोना संक्रमणको मामिला फेरि बढ्दै जाँदा लगानीका क्षेत्रमा संकुचन आउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिन थालेको हो। साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा ३७ अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि देशका अधिकांश स्थानमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्दै जाँदा अर्थतन्त्र केही चलयामान भए पनि पुनः कोरोना तेस्रो लहरले आउने संकेतले लगानी क्षेत्रमा संकुचन देखिन थालेको हो। जसका कारण सोचेअनुरुप बैंकहरुबाट कर्जा लगानी हुन नसक्दा अधिक तरलता बढ्दै गएको जानकारहरु बताउँछन्। ‘अधिक तरलता देखिएकोले अब बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटाउने सम्भावना छ’, उनीहरु भन्छन्, ‘ बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको ब्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ। फलस्वरुप बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन्। उता कर्जाको पनि ब्याजदर त घट्छ नै लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्ने सम्भावना बढी रहन्छ।’ 

गत असार १५ सम्म पनि बैंकिङ प्रणालीमा २४ अर्ब रुपैयाँ बढी अधिक तरलता थियो। एक महिनाकै अवधिमा यो बढेर ३७ अर्ब रुपैयाँभन्दा अधिक भएको छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजर ह्वात्तै घटेको छ। साउन १५ सम्म अन्तरबैंक ब्याजदर ०.७५ प्रतिशतमा झरेको छ। असार १५ सम्म भने अन्तरबैंक ब्याजदर ४.८९ प्रशित रहेको थियो। यसले पनि बैंक ब्याजदर तत्काल बढ्ने सम्भावना कम भएको विज्ञहरु बताउँछन्। ‘बरु कर्जा परिचालन बढाउन बैंक ब्याजदर घट्न सक्छ’, उनीहरु बताउँछन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंकहरुले ४६ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्।