न्याय सेवामा ३० वर्ष व्यतित गरेका ८० वर्षीय विश्वरमण उपाध्याय भट्टराईको सपनालाई निकै उत्कृष्ट ढंगले साकार पार्ने असल छोरा हुन् बैंकर जीवन भट्टराई । 

विश्वरमणले आफ्ना छोराहरुको बिषयमा जस्तो सपना देखे, त्यसलाई निकै कलात्मक ढंगले पूरा गरेर आमाबुबालाई खुशी मात्र दिलाएका छैनन् जीवनले, बरु आफ्नो क्षमता, लगनशीलता र पिताबाट पाएको प्रेरणाबाट देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकलाई समेत स्थापनाकालदेखि नै लगातार प्रगतिको पथमा डोहोर्याइरहेका छन् । हाल सो बैंकको डेपुटी सीइओ रहेका भट्टराई सबै पक्षलाई सन्तुलनमा राखेर काम गर्नसक्ने एक क्षमतावान बैंकर समेत हुन् । 

खोटाङको लामिडाँडाबाट विश्वरमण उपाध्याय सरकारी जागिरको सिलसिलामा धेरै वर्षअघि तराई झरे । मोरङको विराटनगरमा स्थायी बसोबास रहे पनि विश्वरमणले जागिरको बाध्यताले पूरै समय आफ्ना बालबच्चालाई दिन पाएनन् । तर, उनले सबै दौडधूप र व्यस्तताको समेत व्यवस्थापन गरेर आफ्ना बालबच्चालाई नैतिक शिक्षा मात्र सिकाएनन्, नेतृत्व हाँक्नसक्ने ज्ञान समेत दिइरहे । फलस्वरुप, ८० वर्षको बुढेसकालमा विश्वरमण आफ्ना सन्तानको प्रगतिबाट प्रफूल्ल छन् । 

विश्वरमणका २ छोरामध्ये जेठा छोरा हुन् बैंकर भट्टराई । आफूलाई बुबाले सानैदेखि नै पढेर सरकारीभन्दा पनि निजी क्षेत्रमै केही गर्नुपर्छ भन्ने प्रेरणा दिएका कारण समेत आफू बैंकिङ क्षेत्रमा आएको जीवन सुनाउँछन् । 

‘बुबाकै प्रेरणाबाट म आज यो ठाउँमा आइपुगेको हुँ ।’ भट्टराईले बिजशालासँग भने–‘बुबाकै प्रेरणाले आर्थिक प्रशासन, अर्थशास्त्र र जनप्रशासन बिषय गरी तीनवटा बिषयमा स्नातकोत्तर सिध्याएँ । बुबाकै लागि भनेर मैले बिएल गरेँ र एड्भोकेटको लाइसेन्स समेत लिएको छु ।’ 

आफ्ना पिता लामो समय न्याय सेवामा भएका कारण जीवनले बिएल गरेँ, त्यो डिग्रीले अहिले उनलाई नेतृत्व दिन, निर्णय लिन, कानूनी कुरा बुझ्न निकै ठूलो सहयोग भएको छ ।

बुबालाई रोलमोडल मान्ने जीवनले सानै उमेरमा घरव्यवहार चलाउने र आर्थिक व्यवस्थापनको जिम्मेवारी समेत पाए । सानै उमेरमा बुबाबाट प्राप्त त्यो अवसरले उनलाई अहिले नेतृत्व हाँक्न निकै ठूलो सहयोग गरिरहेको ठान्छन् । 

विराटनगरबाट अध्ययन र जागिरको सिलसिलामा काठमाण्डौ बस्न थालेको २० वर्ष भएको सुनाउने जीवन आफू जेठा छोरा भएका कारण समेत बुबासँग धेरै नजिक भएको सुनाउँछन् । ‘घरव्यवहारको कुरा र घरको आर्थिक व्यवस्थापनमा पनि बुबाले मलाई सानैदेखि पत्याउनुभएको अहिले महसुस हुन्छ ।’ उनले भने–‘मलाई ठूलो आर्थिक क्रियाकलाप समेत गर्न दिनुहुन्थ्यो, यसले मलाई समस्याको व्यवस्थापन, सही समयमा आवश्यक निर्णय क्षमताको प्रदर्शन लगायतको बिषयमा निकै ठूलो ज्ञान दियो ।’ 

मोरङको बेलगछियामा भट्टराई परिवारको खेती थियो । मंसिरतिर स्कूल विदा भएको बेलामा जीवन खेत खल्यानमै गएर पाकेको धानको रक्षाका लागि डेढ महिनासम्म बस्ने गर्थे । कक्षा ८ को परीक्षा दिएपछि उनी प्रत्येक वर्ष धानखेतको सुरक्षा र पाकेको बाली व्यवस्थापनका लागि खेतमा गएर बसेँ र त्यसको राम्रो व्यवस्थापन समेत गरेँ । 

यसको केही वर्षपछि आफ्ना पिताले दिएको एक महत्वपूर्ण जिम्मेवारी उनी अझै सम्झन्छन् । त्यसबेला १७ वर्षे जीवन आइए पढ्दै थिए । बुबा जागिरको सिलसिलाका कारण मोरङमा थिएनन् । उनीहरुले बेलगछियाबाट खेती सार्ने विचार गरे र त्यहाँ बेचेर अर्को ठाउँमा किन्ने चाँजोपाजो मिल्यो । यही क्रममा सो बेला जग्गा किन्नुपर्दा सो जग्गाको मोहीलाई क्रेताले नै केही रकम दिनुपर्ने भयो । त्यो समयमा मोहीलाई डेढलाख रुपैयाँ दिनुपर्ने भयो ।

विश्वरमणले यसका लागि जीवनलाई नै अह्राए र पठाए । डेढलाख रुपैयाँ लिएर किन्न लागेको खेतीमा गई मोहीलाई दिएर मोही छुट्याई जग्गा किनेको त्यो स्मरण उनको मानसपटलमा अझै ताजा छ । योबाट पनि सानै उमेरमा विश्वरमणले आफ्ना जेठा पुत्रलाई कतिसम्म विश्वास गरेका रहेछन् भन्ने देखिन्छ ।  

विराटनगरमै रहँदा समेत जीवन आयआर्जनको वैकल्पिक स्रोतको खोजीमा हुन्थे, यो शिक्षा पनि उनले पिताबाटै पाएका थिए । यही क्रममा आइए पढ्दै गर्दा उनले विराटनगरमा भव्य गाई फर्म समेत संचालनमा ल्याए । भारतबाट होलिस्टेन र जर्सी गाई ल्याएर दूध उत्पादन गर्न थाले र विराटनगरमै डेरी समेत संचालन गर्न थाले । 

‘गाई फर्मका लागि मैले बुबासँग पूँजी लिएको थिएँ, पैसा कमाउन थालेपछि बुबालाई प्रोफिटसहित फिर्ता गर्थेँ ।’ विगत सम्झदै जीवनले भने–‘मैले कुनै काम गरेर कमाएको पैसा बुबालाई दिन्थेँ, बुबाले स्याबासी दिनु हुन्थ्यो । बुबाको त्यही हौसलाले आज म यहाँसम्म आइपुगेँ ।’ 

जीवन सानैदेखि पैसा कमाउने आइडियाहरुको बिषयमा सोच्थे । एसएलसी दिएपछि आफ्नो खर्च आफैं जुटाउनुपर्छ भनेर उनले ट्यूसन समेत पढाए, त्यसबेला मासिक ५ हजारसम्म कमाउँथे । त्यो पैसा समेत आफ्नो पकेटखर्च राखेर बुबालाई दिन्थेँ । 

सन्तुष्ट बुबा, मख्ख छोरा
जीवन भट्टराईको प्रगतिबाट बुबा विश्वरमण निकै सन्तुष्ट छन् । जीवनले आमाबुबालाई साथमै राखेका छन् । विश्वरमणले जीवनकै अगाडि त केही भन्दैनन्, तर आफन्तहरुसँग आफ्नो जेठो छोराको प्रगतिको खुलेर प्रशंसा गरेको कुरा कतैबाट सुन्दा जीवनलाई समेत खुशी लाग्छ ।

बुबाले परिकल्पना गरेको स्थानमा पुग्न अझै बाँकी छ कि ? भन्ने हाम्रो प्रश्नमा जीवनले भने–‘बुबाले परिकल्पना गरेभन्दा म माथिल्लो स्तरमा पुगेको हुँ । उहाँ मेरो प्रगतिबाट निकै प्रफूल्ल हुनुहुन्छ ।’ 

बुबाजस्तो हुन सकिन्न ?
जागिर र पोस्टको मामलामा जीवन निकै माथि पुगेँ पनि आफ्ना पिताको कतिपय लोभलाग्दा आनीबानी आफूमा ल्याउन सकिन्न कि वा बुबाजस्तो अझै बन्न सकिन्न कि भन्ने लाग्छ जीवनलाई । ८० वर्षको उमेरमा समेत विश्वरमण औधी सक्रिय छन् । कुलपुजा, मन्दिर व्यवस्थापन, समाजसेवा लगायतको क्षेत्रमा आफ्ना पिताको सक्रियता देखेर जीवन समेत कहिलेकाही त चकितै पर्छन् । ‘सायद यो उमेरमा यति सक्रिय हामी हुन सकिन्न ।’ उनले अनुमान लगाउँदै भने–‘अन्तिम सास रहुञ्जेल समाज र देशका लागि केही गर्नुपर्छ भन्ने बुबाको सक्रियताले शिक्षा दिन्छ, यहीकारण म पनि जागिर बाहेक केही गरौं भन्ने सोंचमा डूब्ने गर्छु कहिलेकाही । आखिर यो समाज र यो देशका लागि हामीले नगरे कसले गर्छ ?’

बुबाबिनाको जिन्दगी नि ?
बुबाबिनाको जिन्दगी जीवन कल्पना गर्न सक्दैनन् । बुबाआमा हुँदा अभिभावकीय सुरक्षाको महसुस गर्ने उनी उहाँहरुको अभावमा जीवन सकसपूर्ण हुने ठान्छन् । ‘घरमा अभिभावक भएपछि ढुक्क  हुँदो रैछ, अहिले मेरो पत्नी पनि काम गर्छिन् । हामी बाहिर हुँदा समेत बुबामुमा घरमा हुँदा हामीलाई ढुक्क हुन्छ ।’ उनले भने–‘बुबा भएकै कारण म आफूलाई सुरक्षित महसुस गर्छु । बुबाको लामो साथ पाएकोमा उत्तिकै खुशी पनि छु ।’ 

के हो बुबा ?
जीवनको बुझाईमा बुबा भनेको सन्तानको रोलमोडल हो । तर, सन्तानको जीवनमा आमाको पनि उत्तिकै भूमिका हुन्छ । ‘बुबा डिसिजन मेकर हो, बाहिरका सबै समस्या र व्यवधानसँग हिम्मतका साथ लड्ने एक उदाहरणीय पात्र हो ।’ बुबाको परिभाषा सुनाउँदै गर्दा आमालाई समेत सन्तुलित रुपमा प्रस्तुत गरेका जीवनले भने–‘आमाहरुको पनि उत्तिकै भूमिका हुन्छ । छोराछोरीलाई कस्तो बनाउने भन्ने प्रेरणा आमाबाट हुन्छ ।’ 

कसरी हेर्ने बुबाको मुख ?
जीवनको भनाईमा बुबाआमालाई खुशी राख्ने कुनै विशेष दिन हुन्न । मातापिताको सेवा जीवनभर नै गर्नुपर्छ, यो सन्तानको कर्तव्य हो । ‘बुढेसकालमा रोग लाग्छ, समयमा चेकजाँच गराउने, औषधि खानु भयो भएन हेर्ने, उहाँहरुसँग सकेसम्म समय बिताउने र उहाँहरुको कुरा पनि सुन्ने गर्नुपर्छ ।’ बैंकर भट्टराईले भने–‘उहाँहरुको जीवन जतिसक्दो लामो होस्, हामीले त्यो सामीप्यता पाइराखौं भनेर म सधैं प्रार्थना गर्छु ।’ तर पनि बुबाको मुख हेर्ने दिन विशेष दिन भएकोले बुबालाई मनपर्ने चिज दिएर सम्मान गर्ने गरेको उनी सुनाउँछन् । तर फेरि थप्छन–‘सबै छोराछोरीले बुबाका लागि एकदिन मात्र होइन, सधैं गर्नुपर्छ ।’ 

कहाँ छ समाज ?
नेपाली समाजमा बुढा भएका बुबाआमा हेलाको पात्र बन्दै गएकोमा जीवनलाई चित्त बुझ्दैन । उनको भनाईमा यो जीवनचक्र हो । आज जुन सन्तानले वृद्ध भएका मातापितालाई हेला गर्छ, भोलि उसले समेत आफ्नो सन्तानबाट त्यही भोग्नुपर्छ । किनभने आज उसको सन्तानले उसले जे गरिरहेको छ, त्यही सिक्ने हो ।

‘बुबाआमा सधैं पाइन्न, उहाँहरु नहुँदाको अवस्थामा समाजमा आडम्बर देखाउनु भन्दा जिवित छँदै खुशी पार्नु सन्तानको कर्तव्य हो ।’ उनले भने–‘उहाँहरु मनले खुशी हुनु, शान्ति हुनुजस्तो ठूलो आशिर्वाद अरु केही होइन । पितृ आशिर्वाद दिनु भनेको सन्तान दर सन्तानलाई राम्रो हुने हो । सकेसम्म बुबाआमाको जीवन सुखमय बनाउनुपर्छ ।’