काठमाण्डौ । प्राथमिक बजारलाई देशव्यापी बनाउने, सीआस्वा प्रणाली भित्र्याउने, डिम्याट खाता सञ्चालन, १० कित्ता समानुपातिक रुपमा आइपीओ बाँडफाँड लगायत सेयर बजारमा थुप्रै सुधार कार्य गरेका बोर्डका पूर्वअध्यक्ष तथा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्न अग्रसर रहेका डा. रेवतबहादुर कार्कीले नेप्से र सेबोनमा रहँदा २ पटक ब्रोकर कमिसन कटौती गरेका थिए ।

पूँजीबजार गतिशील क्षेत्र हो । पूँजीबजारको विकास तथा विस्तार भने क्रमशः भइरहेको छ । नेपाल राष्ट्र बैंकमा आर्थिक सल्लाहकार, ग्रामीण लघुवित्त वित्तीय संस्थामा सीइओ, नेपाल स्टक एक्सचेञ्जमा सीइओ र गतवर्ष मात्रै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट रिटायर्ड डा.रेवतबहादुर कार्कीसँग आइएमएफ, युएनडीपीजस्ता अन्तर्राष्ट्रिय संघसंस्थामा कार्य गरेको अनुभव पनि छ । 

पूँजीबजारकै सेरोफेरोमा रहेर डा. कार्कीसँग बिजशालाले गरेको संक्षिप्त कुराकानी:

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
अर्थतन्त्र ,बैंकिङ र पूँजीबजारसँग सम्बन्धित विविध विषयमा लेखपढ गरेर बिताइरहेको छु । केही रिसर्च र एकेडेमिक कार्यहरुमा पनि व्यस्त छु ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने मुद्धा तपाईले अगाडि बढाउनुभएको थियो, अहिले अन्यौलमा छ । किन आवश्यक छ बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स?
विश्वव्यापी रुपमा भइरहेको अभ्यासलाई मैले नेपालको पूँजीबजारमा पनि लागू गरी पूँजीबजारको आधुनिक विकास र विस्तारमा योगदान हुने आशाका साथ बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषय उठान गरेको हुँ । तर बिडम्बना मेरो कार्यकाल सकिएसँगै यो विषयले पूर्णता पाउन सकिरहेको छैन । सुशासन भएका देशमा बैंकका सहायक कम्पनीले ब्रोकरेज सेवा पाइरहेका छन् । छिमेकी मुलुक भुटानमा समेत बैंकका सहायक कम्पनीले ब्रोकर सेवा प्रदान गरिरहेका छन् ।

पूँजीबजारलाई अग्रगमनको दिशामा डोहोर्याउन बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवश्यक छ । लगानीकर्ताहरुको सेवा र ब्रोकरेज पेशामा प्रतिस्पर्धात्मक र गुणात्मक क्षमता अभिवृद्धिका लागि समेत बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवश्यक छ । 

नियमावलीमा नै भएको व्यवस्थामा टेकेर, सरकारको सहमति(मन्त्रीस्तरीय निर्णय) भएपछि नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिमा नै यस विषयमा व्यवस्था भएको थियो । 

लगानीकर्ताहरुको हकहित र बजार विकासलाई अघि बढाउने निर्विकल्प विषय बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स हो ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साडर ट्रेडिङ हुन्छ भनिन्छ नि ? यो साँचो हो ?
यो सरासर गलत हो । बैंक आफैंले ब्रोकरको काम गर्ने होइन । बैंकका सहायक कम्पनीले ब्रोकरेज सेवा दिने हो । बैंक आफैंले आफ्नो कम्पनीको सेयर किन्न नपाउने व्यवस्था अहिले पनि छ । उसो त इन्साइडर ट्रेडिङ सम्बन्धी विनियमावली अर्थमन्त्रालयमा नै लामो समयसम्म विचाराधीन छ, स्वीकृत हुन निकै लामो समय लिइसक्यो । सो विनियमावलीले पनि मज्जाले नियमन गर्न सकिन्छ ।

तपाईँको कार्यकालमा २ पटक ब्रोकर कमिसन घटाउनु भयो, तर हाल ब्रोकर कमिसन घटाउन ब्रोकरकै सल्लाह आवश्यक छ भन्ने बोर्डको अभिव्यक्तिप्रति तपाईँको धारणा के छ ?
थोरै शुल्कले अधिक कारोबारमा प्रोत्साहन मिल्छ । कारोबार बढेपछि स्वतः ब्रोकर कमिसनसमेत बढ्छ । अग्रगमनकारी सोंच नराख्दा हामी यथास्थितिमा नै झुण्डिरहन्छौं । फलस्वरुप बजारको विकास तथा सुधार हुन पाउँदैन । ब्रोकरको सल्लाह आवश्यक पर्छ, तर निर्णय नै ब्रोकरमार्फत त लिन भएन नि ।

तपाईँले ब्रोकर कमिसन घटाउँदा कत्तिको प्रलोभन तथा दवाब आयो ?
म कसैको दवाब र प्रलोभनमा भएको भए पूँजीबजारको विकास हुन्थ्यो ? लगानीकर्ताको लागत घटाउनका लागि कुनै पनि हालतमा ब्रोकर कमिसन घटाउन उपयुक्त हुन्छ । म नेप्सेमा नै हुँदा बजारको यथास्थितिलाई चिर्दै नयाँ २७ ब्रोकर थप गरेको हुँ र आज ती नयाँ ब्रोकरहरु तुलनात्मक रुपमा योग्य छन् । प्रलोभनमा परेको भए अहिले बजारको अवस्था पुरानै ढाँचामा हुन्थ्यो ।

तपाईँ बोर्डमा अध्यक्ष हुँदा अर्को स्टक एक्सचेञ्ज पनि ल्याउनुपर्छ भन्ने कुरामा अडिग हुनुुहुन्थ्यो, तर पूरा भएन नि । 
अहिलेकै नेपाल स्टक एक्सचेञ्जमात्र हुने हो भने बजार पुरातनवादी सोंच र सरकारी संयन्त्रको कठपुतली बन्छ । नेपालमा अर्कों स्टक एक्सचेञ्ज आवश्यक छ । पछिल्ला समय नयाँ बैंकहरु धमाधम थपिए, तर त्यो बेला पनि राष्ट्रिय वाणिज्य बैंक खत्तम नै हुन्छ भनिन्थ्यो तर यथार्थ त्यो हैन । नयाँ सोच ल्याउनुपर्यो । निजी क्षेत्रबाट स्थापित बैंकहरुले ग्राहकहरुलाई प्रतिस्पर्धात्मक सेवा दिइरहेका छन् ।  

ठीक यसैगरी अब आधुनिक पूँजीबजारमा एउटा मात्र स्टक एक्सचेञ्जले धान्न सक्दैन । भारतमा बीएसई थियो, अहिले एनएसई आएपछि बाध्य भएर बीएसई पनि आधुनिक बन्दैछ । हामीले सधैं अगाडि सोच्नुपर्छ । आफू अनुकुल व्याख्या गर्ने र अग्रगमन सोंच नराखेका कारण नेपालको पूँजीबजार अघि बढ्न नसकेको हो । बजार गतिशील हुन्छ र बनाउनु पनि पर्छ, त्यसैकारण हाम्रो देशमा पनि थप अर्को स्टक एक्सचेञ्ज र २ वटा कमोडिटी एक्सचेञ्ज जरुरी छ ।

तपाईँले नै नयाँ २७ ब्रोकर थप्नुभयो, तर उनीहरुलाई केबल ट्रेडिङ(सेयर किनबेच)मा मात्र सीमित बनाइदिनुभयो भन्ने आरोप छ नि ।
साँच्चै भन्नुपर्दा हालका नयाँ ब्रोकरहरुमा शैक्षिक योग्यता पनि छ । उनीहरुलाई योग्यता अनुसारको काम अझै भएको छैन । मार्जिन ट्रेडिङ मेरो पालोमा ब्रोकरहरुलाई दिएको नयाँ प्रडक्ट थियो । ब्रोकरहरुलाई पनि स्टक डिलर र परामर्शदाताको काम गर्न दिइनुपर्छ।

पूँजीबजारको विकास गर्न थप के गर्नुपर्छ ?
हाल स्टक एक्सचेञ्ज र बोर्ड परम्परागत हिसाबले नै चल्ने हो भने पूँजीबजारको विकास कल्पना नगरे हुन्छ । अर्को स्टक एक्सचेञ्ज ल्याई नयाँ प्रविधिमा अपग्रेड गर्दै कर्पोरेट बनाउनुपर्छ । नत्र हालको नेप्से सरकारी हुञ्जेल मात्र आधुनिक हुने सोंच राख्नु गलत ठहर्छ । समग्रमा भन्नुपर्दा स्टक एक्सचेञ्ज कर्पोरेट हुन अति आवश्यक छ ।

सेबोन र नेप्सेबीच सधैं जुँगाको लडाईँ चलिरहन्छ । यो कहिलेसम्म चलिरहला ?
सरकारी स्तरबाट विकसित भएका बोर्ड र नेप्सेबीच सधैं जुँगा लडाईँको खेल हुने कुरा साँचो हो । दुवै निकायमा सरकारी प्रतिनिधित्व भइञ्जेल यो खेल भइरहन्छ ।