काठमाण्डौ । डिम्याट खाता खोल्न, बोनस र हकप्रद हितग्राहीको खातामा जम्मा गर्न, निक्षेप सदस्यको कार्य गर्न बैंकका शाखाहरुले ढिलाई र अटेर गर्ने गरेकामा रोष प्रकट गर्दै नेपाल धितोपत्र बोर्डले नौबुँदे कडा निर्देशन जारी गरेको छ । 

बोर्डले धितोपत्रको अभौतिकीकरण, राफसाफ र फस्र्यौट सम्बन्धी कार्यमा चरम ढिलाई भइरहेको भन्दै हितग्राहीको गुनासो सुन्नका लागि टोल फ्रि नम्बर उपलब्ध गराउँदै जारी निर्देशन पालना नभएको पाइए तुरुन्त गुनासो गर्न भनेको छ । 

धितोपत्र बजारमा २०७२ माघदेखि पूर्ण रुपमा कागजी कारोबारको अन्त गरी अभौतिकीकरण लागू भइसकेको छ । प्राथमिक निश्कासनका लागि २०७३ साउनदेखि काठमाण्डौ उपत्यकाभित्र र २०७३ माघदेखि उपत्यका बाहिरका हितग्राही खाता अनिवार्य गरिएको छ । यो अनिवार्य व्यवस्थापछि धेरै लगानीकर्ताले खाता खोले पनि डिम्याट खाता खोल्न धेरै समय लगाउने गरिएको, डेबिट इन्स्टक्सन स्लीप(डीआइएस) ढिलो गरी प्राप्त हुने गरेको, बोनस तथा हकप्रद सेयर हितग्राहीको खातामा ढिलो जम्मा हुने गरेको, हितग्राहीको खातामा सेयर हस्तान्तरण गर्न बैंकहरुले आनाकानी गर्ने गरेका लगायतका गुनासा आएपछि निर्देशन जारी गर्नुपरेको बोर्डका प्रवक्त निरज गिरीले प्रष्ट्याए । 

बोर्डले धितोपत्रको अभौतिकीकरण, राफसाफ र फछ्र्यौट सम्बन्धी कार्यमा कुनै ढिलाई भएमा वा तोकिएको दिनमा पनि काम नभएको बोर्डको हटलाइन १६६००१४४४३३ मा गुनासो गर्न सकिने व्यवस्था समेत गरिएको निर्देशनमा उल्लेख छ । 

आफ्नो ९ बुँदे निर्देशनको पालना भएपछि धितोपत्र कारोबार तथा राफसाफ छिटोछरितो हुने, लगानीकर्तामैत्री हुने र धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वास बढेर समग्र पूँजीबजारमा उभार आउने बोर्डको दाबी छ । 

बोर्डले जारी गरेको ९ बुँदे निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस् ।