काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन साउन मसान्तसम्म प्रकाशन गर्दा समेत हुने व्यवस्था गरेको छ । 

राष्टबैंकको नियमन विभागले सोमबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

यो व्यवस्था हुनुभन्दा अगाडि हरेक त्रैमास सकिएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ । साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।’ निर्देशनमा भनिएको छ–‘तर, आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिएको छ ।’