काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस १ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको निक्षेप पनि पुस १ गते एकैदिन ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४२ खर्ब २३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप पुस १ गते बढेर ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि पुस १ गते एकैदिन ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४५ खर्ब ९१ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी बढेर पुस १ गतेसम्म ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकको पुस १ गतेसम्म कुल कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेर ४० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियोमा सुधार देखिएको छ। गत मंसिर २९ गतेसम्म ९१.२४ प्रतिशत रहेको सीडी रेसियो घटेर ९१.१४ प्रतिशतमा झरेको छ। अन्तरबैंक बैंक ब्याजदर पनि ४.९६ प्रतिशतबाट घटेर ४.८६ प्रतिशतमा ओर्लेको छ।