काठमाण्डौ । पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ५१ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप भने ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ४५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। 

यो तीन दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी घटेर ४७ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो। 

मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १६ अर्ब रुपैयाँ थियो। 

राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो घटेर ८६.७२ प्रतिशतमा झरेको छ। मंसिर १४ गतेसम्म सीडी रेसियो ८६.८४ प्रतिशत थियो। 

राष्ट्र बैंकका नारायणप्रसाद पोखरेलले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्थामा सुधार हुँदै गएको छ। ‘हिजो मंसिर १८ गतेसम्म २० अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता छ’, उनले भने, ‘यसले अहिले तरलतामा सुधार हुँदै गएको देखिन्छ।’ 

राष्ट्र बैंकको वेबसाइटका प्रकाशित हुने कर्जा, निक्षेप, सीडी रेसियोजस्ता सूचक समयमै अपडेट नहुनुमा प्राविधिक कारण रहेको पोखरेल बताउँछन्। ‘वेबसाइटमा अटोमेटिक अपडेट हुँदैन, म्यानुअली अपडेट गर्नुपर्छ’, उनले भने, ‘त्यसैले ढिलाइ भएको हुन सक्छ।’