– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय पनि नेपाली बैंकिङ क्षेत्रमा तरलता संकट कायमै छ। लगानीयोग्य रकमको अभावमा बैंकहरु छन्। 

तरलता संकटसँग जुझिरहेका बैंकहरुले जनताबाट निक्षेप तान्न अनेक जुक्ति लगाइरहेका छन्। बीमा सुुविधासहित १० गुुणासम्मका बचत योजनाहरु ल्याएर बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन्। बैंक तथा वित्तीय संस्थाबीच २ गुुणादेखि १० गुुणासम्म रकम फिर्ता पाईने योजना ल्याउने होडबाजी चलेको हो। त्यसका लागि बैंकहरुले समयसमेत तोकेका छन्।

त्यस्ता योजनामा १० गुुणासम्म रकम फिर्तामात्रै नभएर बीमासहित विभिन्न सुुविधा तथा छुुटको व्यवस्था बैंकहरुले गरेका हुन्। यस्ता योजनाबाट आएको स्रोतले बैंकहरुमा केही हदसम्म तरलतामा सहजता हुने देखिन्छ। तर, ब्याजदर बढेका बेला भने सोहीअनुुसार ग्राहकलाई भुक्तानी गर्दा भने त्यसको भार पनि बैंकले नै ब्यहोर्नुपर्ने हुन्छ। 

‘एनसीसी प्रफुल्ल मुद्दति खाता’अन्तर्गत एनसीसी बैंकले पहिलो वर्षका लागि ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र २ लाख रुपैयाँसम्मको घातक रोग बीमा सुविधासमेत रहेको छ। 

सनराइज बैंकले भदौमा महिलाहरुका लागि विभिन्न अफर सार्वजनिक गरेको छ। सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसूति खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ। स्वास्थ्य योजनाअन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमासमेत दिँदै आएको छ। 

मुक्तिनाथ विकास बैंकले आकर्षित ब्याजदर प्रदान गर्नेगरी २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत व्यतिmगत मुद्दति खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने ग्राहकले १० लाखसम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।

१० गुणासम्म रकम फिर्ता हुने गरी ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजन’ ल्याएको छ। यो योजनामा उच्च प्रतिफलका साथमा ५ वर्षका लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको छ। 

माथिका केही बैंकका योजनाका उदाहरणमात्रै हुन्। अहिले निक्षेप संकलन गर्न अधिकांश बैंकले यो बाटो समातेका हुन्। तर, बैंकका यस्ता योजनालाई कतिपय विज्ञले कतिपयले निक्षेप तान्नका लागि पुुरानै योजनालाई बैंकले नयाँ तरिकाले प्रस्तुुत गरेको बताएका छन्। 

बैंकहरुले केही कुरा परिवर्तन गरेर ब्रान्डिङमात्रै गरेको पूूर्वबैंक पर्शुराम कुँवर क्षेत्री बताउँछन्। जतिगुुणा बचत योजना ल्याए पनि ब्याजदर एकै खालको भएको उनको भनाइ छ। ‘अहिले बैंकहरुले थोरै कुरा चेन्ज गरेर ब्रान्डिङ गर्न योजना ल्याइरहेका हुुन्’, उनले भने, ‘तर, ब्याजदर एकैनासको हुने भएकाले भबिष्यमा ब्याज घटेको खण्डमा भने जोखिम हुनुसक्छ।’

लामो समयको डिपोजिट बैंकलाई आवश्यक रहेको क्षेत्रीको भनाइ छ। उनी भन्छन् ,‘१० गुुणासम्मको योजना भने पनि ब्याजदर कै कुरा हो, त्यसैले त्यसलाई नेभेटिभ रुपमा लिनुहुँदैन। बैंकहरुले कर्जा १५–२० वर्षका लागि दिएका छन् भने अधिकांश बचत १ वर्षका छन्। यस्तो अवस्थामा बैंकहरुले ८–१० वर्षको डिपोजिट परिचालन गर्छन् भने त्यो राम्रो पक्ष हो।’

बैंकहरुले ल्याएको योजना फरक प्रकृतिका नभएर एकै प्रकारको जस्तो देखिएको वित्तीय जानकार हेमन्त बस्याल बताउँछन्। ‘तरलता सहज हुने वित्तीक्क बैंकहरुले अस्वाभाविक रुपले कर्जा विस्तार गर्छन् र तरलता टाइट हुने बेला बचतको योजनामा ल्याएर प्रतिस्पर्धा गर्ने प्रवृत्ति देखिएको छ’, उनले भने, ‘तर, पनि प्रोडक्ट डाइभर्सिफिकेसन छैन अर्थात फरक प्रकृतिका योजना छैनन्।’ 

यस्तै बैंकहरुले तरलता संकट हुनेबित्तिकै नयाँ उपकरणबाट मार्केटलाई भाइब्रेन्ट बनाउनेभन्दा पनि ट्रेडिसनल बाटोबाट  ब्याजदरमा प्रतिस्पर्धा गर्ने प्रवृति बढेको बस्यालको भनाइ छ। ‘त्यसैले बैंकले ल्याएका प्रोडक्टमा खास तात्विक फरक छैन’, उनले भने, ‘फाइनान्सियल प्रोडक्ट बैंकले बेच्न पाउनुपर्ने हो। तर, यहाँ प्राफेनालिजम खोज्नुुपर्ने अवस्था भएको छ।’

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बैंकहरुले प्रोडक्टलाई आकर्षित बनाउन प्याकेजिङ गरेकोजस्तो देखिएको र ब्याजरदरमा त्यति फरक नभएको बताउँछन्। फिक्स्ड टर्मका प्रोडक्ट धेरै सेल भए वा बैंकहरुले भविष्यमा लाइबिलिटी धेरै क्रिएट भएको समयमा बैंकले ग्राहकको निक्षेप फिर्ता गर्न सक्ने वा नसक्ने अवस्था हेरि राष्ट्र बैंकको हस्तक्षेप हुन पनि सक्ने पोखरेलले बताए। 

‘बैंकहरुले आकर्षित गराउन प्रोडक्टलाई प्याकेजिङ गरेको देखिन्छ तर फिक्स्ड डिपोजिटमा दिने ब्याजदर र अहिले आएका योजनामा दिएको ब्याजमा खासै फरक छैन’, पोखरेलले भने, ‘तर, यस्ता योजना ल्याउँदै गर्दा धेरै सेल भएको खण्डमा वा बैंकहरुको भविष्यमा लाइबिलिटी धेरै क्रिएट भएमा बैंकले ग्राहकको निक्षेप फिर्ता गर्न सक्ने वा नसक्ने अवस्था हेरी राष्ट्र बैंकले पक्कै पनि निगरानी गर्नेछ।’